भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा पनि धरौटीमा छुट्ने भएका छन् । सुप्रिम सहकारी बुटवलको ठगी आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो । थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेपनि अदालतले १ करोड धरौटी लिएर छाड्न आदेश गरेको हो । लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गर्दै बाहिर बसेर मुद्दा लड्न पाउनु पर्ने माग गरेका थिए ।
जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया