अब त धेरैलाई लाग्न थालेको छ, यो सिजन लिभरपुलमा मोहमद सलाहका लागि अन्तिम हुनेछ । यस्तै हो भने उनी तहल्का मच्चाएर लिभरपुल छाड्दै छन् । त्यसैले त प्रत्येक साता जति–जति बेला लिभरपुलले राम्रो खेल्छ, त्यो सलाहकै मात्र एक पक्षीय खेल जस्तो हुन थालेको छ ।
भर्खरै मात्र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–६ ले सहजै पराजित गर्यो । खेल सुरु हुनु अगाडि अड्कल काटिएको थियो, टोटनहमले यसपल्ट लिभरपुललाई गाह्रो पार्न सक्छ । खेल पनि लन्डनस्थित टोटनहमकै स्टेडियममा हुँदै थियो । तर जति बेला खेल सुरु भयो, पूरापूर लिभरपुल मात्रै छाएको देखियो । त्यसमा यी इजिप्टका जादुयी खेलाडीले दुई गोल गरे । त्यति मात्र होइन, उनले अन्य दुई गोलका लागि ‘असिस्ट’ समेत गरिदिए । यो सिजनको प्रिमियर लिगमा मात्रै उनले १५ गोल गरिसके भने ‘असिस्ट’ नै पनि ११ पटक । उच्च गोलकर्ताको होडमा उनले म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई दुई गोलले पछि छोडिसके ।
यसबीच एउटा त्यस्तो तथ्यांक निस्केको छ, जसले इंग्लिस फुटबल मन पराउनेलाई अचम्ममा पार्न सक्छ । क्रिसमस अगाडि अहिलेसम्म इंग्लिस फुटबलमा यस अगाडि कसैले गोल र ‘असिस्ट’ मा दोहोरो अंक छोएकै रहेनछ । यसपल्ट यही काम सलाहले गरे । यति कुरा सुन्दा सलाह स्वयं सुरुमा अचम्ममा परे । पछि खुसी हुँदै भनेका छन्, ‘मैले यसबारे त सोचेकै थिइनँ । तर यस्तो सुन्दा खुसीसँगै गर्व पनि लागेको छ । मेरो ध्यान त खालि कडा मिहिनेतमै मात्र थियो ।’ नर्वेली खेलाडी हालान्डले अहिलेसम्म १३ गोल गरेका छन् । तर सिटीको खराब लय र लगातारको पराजय शृंखलाका कारण उनको त्यो प्रदर्शनलाई कसैले पनि वास्ता गरिरहेका छैनन् । त्यसैले धेरैले के पनि मान्न थालेका छन् भने सलाहले आफ्नो यस्तै प्रदर्शनलाई कायम राख्ने हो भने उनी नै हुनेछन्, यो सिजनका उच्च गोलकर्ता । यस्तोमा उनले जित्नेछन्, ‘गोल्डेन बुट’ अवार्ड । उनले यसअघि तीनपल्ट प्रिमियर लिगमा यो अवार्ड जितिसके । सलाहको कीर्तिमानी प्रदर्शनको लेखाजोखामा अरू पनि छन् । जस्तो, उनले इंग्लिस प्रिमियर लिगमा खेलेका पछिल्ला १२ खेलमा १२ गोल नै गरेका छन् । लिभरपुलले यस सिजनमा गरेका गोलमध्ये ३३ गोलमा सलाहको कुनै न कुनै रूपमा भूमिका रहेकै छ । तीमध्ये उनको नाममा १८ गोल छन्, अनि सहयोगीका रूपमा १५ । युरोपका ठूला पाँच लिगलाई आधार मान्ने हो भने उनी अन्य कोही खेलाडीको प्रदर्शनभन्दा धेरैले अगाडि छन् ।
अझ सलाहले लगातार चौथो सिजन गोल र ‘असिस्ट’ दुवैमा दोहोरो अंक छोएका छन् । समग्रमा उनले लिभरपुलका लागि यस्तो प्रदर्शन गरेको छैटौं सिजन हो, यसक्रममा उनले वायन रोनीलाई पनि उछिने । रोनीको नाममा यसअघि पाँच यस्ता प्रदर्शनको कीर्तिमान थियो । हुनसक्छ, यही सिजन उनले आर्सनलका थिएरी हेनरीको नाममा रहेको कीर्तिमान पनि बराबरी गर्नेछन्, चार सिजन लिगकै सर्वाधिक गोलकर्ता हुने । तय छ, यत्तिको खेल्दा लिभरपुललाई फाइदा हुने भयो नै । लिभरपुल अहिलेका लागि प्रिमियर लिगको मात्र शीर्ष स्थानमा छैन, युरोपेली च्याम्पियन्स लिगमा पनि पहिलोमै छ । प्रिमियर लिगमै लिभरपुलको १६ खेलबाट ३९ अंक छ र यो दोस्रोमा रहेको चेल्सीमाथि चार अंकको अग्रता हो । अझ चेल्सीको तुलनामा लिभरपुलले एक खेल पनि कम खेलेको छ । प्रशिक्षकमा आर्ने स्लट आएयता लिभरपुलको प्रदर्शन साँच्चै अचम्मले राम्रो भएको छ । यो सिजन लिभरपुल एकै खेलमा मात्र पराजित भएको छ । च्याम्पियन्स लिगमा भने लिभरपुलको ६ खेलबाट पूरापूर १८ अंक छ, उसले जति खेलेको छ, सबैमा जितेको छ । यस्तोमा अब भन्न सुरु भएको छ, सलाह प्रिमियर लिग इतिहासकै एक सर्वाधिक सफल खेलाडी हुन् । खेलको भाषामा भन्दा ‘गोट’ अर्थात् ‘ग्रेटेस्ट प्लेयर अफ अल टाइम’ । गोलमै संलग्न तथ्यांकका आधारमा सलाह सर्वकालीन सूचीको सातौं स्थानमा पुगेका छन् । उनीभन्दा अगाडि छन्, केही उच्च नामहरू ।
जस्तो, एलान सिएरर पहिलोमा । तिनै रोनी दोस्रोमा । त्यसपछि फ्रायन्क लाम्पार्ड, रायन गिग्स, ह्यारी केन र एन्डी कोल । सलाहले अहिलेसम्म प्रिमियर लिगमा १ सय ७२ गोल गरिसकेका छन् । अनि ८० गोलमा ‘असिस्ट’ । जम्मा गरेर २ सय ५२ । सिएररले त २ सय ६० गोल गरेका छन्, अनि ६२ गोलमा सहभागी भूमिका । सलाहका पछाडि छन्, हेनरीसँगै सर्जियो एगुरो र टेडी सेरिङघम । यसरी शीर्ष दस खेलाडीको सूची तयार हुन्छ । भनेपछि सलाहको अहिलेसम्मको प्रदर्शनलाई उच्च नमानेर सुखै छैन, भलै कोही उनी र लिभरपुलको विरोधी पनि हुन सक्छन् । तर एउटा मुख्य प्रश्न भने बाँकी नै छ । के लिभरपुलले सलाहलाई नयाँ अनुबन्धको प्रस्ताव राख्ने छ त रु राखेन भने पनि ३२ वर्षीय सलाह अन्यत्र नै लाग्नेछन् । त्यो पनि बिना कुनै मूल्य । यसबीच अनेक खाले हल्ला सुन्नमा पाइन्छ । सलाहले अनुबन्ध स्विकार्ने भए अथवा भएनन् । लिभरपुलले नयाँ अनुबन्ध दिने भयो अथवा दिने भएन । सलाहसँग जोडिएका तथ्यांकलाई आधार मान्ने हो भने त सलाहलाई नयाँ अनुबन्ध दिनैपर्ने त हुन्छ, होइन त रु
प्रतिक्रिया