बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो ।
अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। बासुदेव उपाध्यायले प्रदेशमा मातृ-मृत्युदरलाई घटाउनका लागि बिस्तारित अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरी अस्पतालमा रहेका उपकरणहरुको व्यवस्थापन तथा शल्यक्रिया कक्ष निर्माणमा सहयोग गरेको उनले जानकारी दिए । यसैगरी प्रदेशका अन्य अस्पतालहरुमा समेत स्वास्थ्य सेवालाई थप बिस्तार र गुणस्तर वृद्धिका लागि काम भैहेको स्वास्थ्य सचिव डा। उपाध्यायले जानकारी दिए ।
अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएको अस्पताल प्रमुख डा। इन्द्र ढकालले जानकारी दिए । यो सेवा बिस्तारसँगै अब हप्ताका साथै दिन प्रसुतीतर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने उनले उल्लेख गरे । सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । जनरल रुपमा २ वटा अपरेशन थिएटर रहेका छन् । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य विरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता सङ्ख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने अस्पताल प्रमुख ढकालले जानकारी दिए ।
विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको सङ्ख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने छ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार बिस्तारको कामलाई प्राथमिकता दिइएको ढकालले बताए ।
अस्पतालमा स्थापना गरिएको अपरेशन थिएटरको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ । आइतबारदेखि गरिएको सफ्ट ओपनीङका अवसरमा बोल्दै अस्पताल बिकास समिति सदस्य लक्ष्मी भट्टराईले सेवा बिस्तारसँगै मातृ र शिशुको जीवन थप सुरक्षित हुने अपेक्षा गरिन् । मातृ-शिशुको स्वास्थ्यका लागि थप गुणस्तर सेवा प्रदान गर्न सकिने बताउँदै उनले थप उपकरण, जनशक्ति व्यवस्था तथा संरचनाहरुका लागि अस्पताल बिकास समितिले पहल जारी राख्ने उल्लेख गरिन् ।
अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया मध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ । यसैगरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफनर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।
प्रतिक्रिया