२ माघ २०८१, बुधबार | January 15, 2025

मेलाले उत्पादक, डिष्टिब्युटर्स र उपभोक्ता बीच व्यवसायमैत्री वातावरण निर्माणमा बल पुग्नेछ : हरिप्रसाद अर्याल



बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल-२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय गरेको बुटवल उद्योग वाणिज्य संघले २०५६ यता नियमित रुपमा औद्योगिक व्यापार मेला गर्दै आएको छ । बुटवलमा आयोजना हुने औद्योगिक व्यापार मेला बुटवलकै एउटा ब्राण्ड बन्न सफल भएको छ भने यो मेलालाई बुटवल उद्योग वाणिज्य संघले मात्रै नभएर सिंगो बुटवलले लिएको अपनत्वले संघलाई हौसला मिलेको छ । अहिले बुटवल उद्योग वाणिज्य संघले मेलाको तयारीका कामलाई तिब्रता दिईरहेको छ । मेला तयारी साथै मेलाले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावका विषयलाई समेटेर बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालसंग गरिएको संक्षिप्त कुराकानी ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा औद्योगिक व्यापार मेला सुरु हुँदैछ । तयारी कसरी अगाडि बढिरहेको छ ?

२०८१ पौष ३ देखि १८ गते सम्म संचालन हुने औद्योगिक ब्यापार मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको २४ औं मेला हो । अहिले हामी कुरा गरिरहदा स्टल दर्ता, पुर्वाधार निर्माण, मेलाको प्रचार प्रसार, सबै तहका सरकारी निकायसंगको समन्वय, निजी क्षेत्रका अन्य व्यवसायिक संघ सस्थासंगको सहकार्य, कार्य सम्पादन समिति अन्तरगतका विषयगत समितिका नियमित बैठक जस्ता तयारीका सन्दर्भमा गर्नु पर्ने नियमित कार्यमा लागेका छौ । मेला अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा गर्न लागिएको र प्रदर्शनीय स्थल निर्माणधिन अवस्थामा रहेकाले यसको व्यवस्थापन, मेलाका लागि पूर्वाधार निर्माण जस्ता कार्यमा अलि धेरै समय दिनु परेको छ । त्यसका वापजुद पनि हामीले मेलालाई विशेष प्रकारको अठोट गरेका छौं । त्यसै अनुसार कार्यसम्पादन समिति, विभागीय उपसमितिहरु आफ्नो आफ्नो जिम्मेवारी अनुसारका काममा सक्रियतापूर्वक लागिरहेका छन् । त्यस यसबाहेक संघ अन्तरगत गठन भएका बस्तुगत समितिहरुले पनि आफ्नो जिम्मेवारी बोध गरेर तयारीका काममा खटिईरहनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघले विगतदेखि नै निरन्तर मेला आयोजना गर्दै आएको छ । विगतका मेला र अहिलेको मेलामा भिन्नता के छ ?

बुटवलमा २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक प्रवद्र्धनात्मक मेलाको शुरुवात गरेर गौरवशाली इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले पचासको दशकको मध्यतिरबाट केहि वर्ष लगातार र पछि गएर आलोपालो गर्दै औद्योगिक व्यापार मेला र विशिष्टिकृत गरि २३ वटा मेला सम्पन्न गरिसकेका छौ । र २४ औं संस्करणको रुपमा यो मेलाको आयोजना र व्यवस्थापन गर्दैछौं । यति धेरै मेलाको आयोजना र व्यवस्थापनको संस्थागत र कतिपय सन्दर्भमा ब्यक्तिगत अनुभवले पनि एक पछि अर्को मेला परिष्कृत र व्यस्थित हुदै आएका छन् । यो मेलामा अनुभवको आधारमा बिगतका कमजोरी हटाउदै बदलिदो परिवेश, अवलोकनकर्ताको चाहाना, हाम्रो उदेश्य बिच सन्तुलन मिलाउदै फरकपन दिने प्रयास गरेका छौं । स्टलको नक्साङ्कन (ले–आउट)परिवर्तन गर्ने प्रयास गरेका छौ, यो परिवर्तनले उत्पादक, डिष्टिब्युटर्स र उपभोक्ता (अबलोकन कर्ता) बिच सहज र व्यवसायमैत्री वातावरण निर्माणमा बल पु¥याउने छ । स्टलको वरिपरि धुलो रहित बनाउने प्रयास गरेका छौ । स्टेच अहिले सम्मकै नविनतम बनाउँदैछौं । संभवत मेला महोत्सवहरुमा सय फुट लम्बाइको स्टेच पहिलो पटक बुटवल मण्डपमा बन्दैछ । वाल उद्यानमा विदेश घुम्न जाँदा डलरमा टिकट काटेर हेर्ने वाटर टनेल आउदैछ । यि र यस्तै कैयौ कुराले मेलालाइ निरन्तरतामा नविननता थपिदिएको छ ।

यो मेलामा स्टल कति रहन्छ ? मेलाको अवलोकन कतिले गर्ने अपेक्षा गर्नुभएको छ र कारोवार कतिको गर्ने अपेक्षा गर्नुभएको छ ?

बुटवलको मेला आफैमा एउटा ब्राण्ड बनिसकेको छ । हामीले स्टल जती बनाएपछि स्टल नआउलाकी भन्ने डर छैन । तरपनि मेलाको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य पुरा गर्नेगरी, व्यवस्थापनमा सहज हुनेगरी हामीले लक्ष्य निर्धारण गरेका छौं । मेला नितान्त मेलाका लागि मात्रै होईन । यो मेला बुटवलको साख पनि भएकाले बुटवलको साखलाई समेत जोगाउनेगरी फरक र राम्रो बनाउने हाम्रो प्रयास हो । यस हिसावले मेलामा भित्र (ईनडोर) र बाहिर (आउटडोर) गरि लगभग ५ सय स्टल रहनेछन् । मेलामा प्रत्यक्ष रुपमा ५ सय जनाले अवलोकन गर्ने र मेला भित्र १५ करोडको कारोवार हुनसक्ने भन्ने आँकलन गरेका छौं ।

अहिले बजारैपिच्छे मेला महोत्सव आयोजना भईरहेका छन् । तर बुटवलको मेला राष्ट्रिय रुपमै एउटा ब्राण्डको रुपमा स्थापित भएको छ । अरु मेला र बुटवलको मेलामा के अन्तर छ ?

जसले पनि, जहा पनि र जसरी पनि मेला तथा महोत्सव आयोजना गर्दा मेला तथा महोत्सवको साख गिरिरहेको छ । संस्थाको व्यानरमा ठेकेदार मार्फत चल्ने मेला महोत्सव सामाजिक र व्यवसायिक मर्यादा नाघ्दा संस्थागत रुपमा स्वमसेवीद्वारा आयोजना हुने मेलाहरु समेत अविश्वाशिला बनेका छन् । मेलाहरु दिगो व्यापारको उद्देश्यभन्दा तात्कालिक लाभमा मात्र केन्द्रित भएका कारण इमान्दार आयोजक समेत बदनाम भएका छौं । तथापि बुटवलको मेला प्रति एक तहको विश्वास र आकर्षण छ । हामी सबै आलोपालोमा मेला, प्रदर्शनी वा एक्स्पो जे जे नाममा आयोजना भएको भए पनि यसको साख बचाउन लागिपरेका छौ । त्यसैमा पनि बुटवल उद्योग वाणिज्य संघ २०१० सालमा स्थापित बुटवलको जेठो सस्था, २०४१ सालमा ऐतिहासिक प्रदर्शनी गरेको सस्था भएका कारण पनि हामी थप जिम्मेवारी वोध गर्ने गरेकाछै । यसरी मेला अवलोकनकर्ताको विश्वास जितेका कारण बुटवलको मेला आफैमा ब्राण्ड बन्न सफल भएको हो ।

मेलामा ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारा तय गरिएको छ । नारा अनुसार लुम्बिनीमा लगानी अभिबृद्धि हुने सम्भावना कस्तो देख्नुहुन्छ ?

हामीले तय गरेको नारा कुनै लहडमा सस्तो लोकपृयताका लागि भनिएको होइन । हाम्रो अवस्थिति, सडक र संरचनागत पुर्वाधार, वुद्धको जन्मभूमि लुम्बिनी, रुपन्देहीमा रहेको दक्षिण तर्फको देशकै प्रमुख भंसार नाका, अन्तर्राष्ट्रिय विमानस्थल लगायतको पुर्वाधारसंगै मोतिपुर औद्योगिक क्षेत्र निर्माण प्रकृयाको आशामा देशकै करिव मध्य भागमा पर्ने रुपन्देही लगानीकर्ताको लागि भरोसा योग्य स्थल बन्न सक्छ भन्ने हाम्रो विश्वास हो । २÷४ वर्ष अघि पछि होला समुन्नत नेपाल निर्माणको आधारभूमी लुम्बिनी प्रदेश त्यसमा पनि रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी नै हो । रुपन्देहीमा लगानीका लागि राम्रो सम्भावना पनि छ । तर नीतिगत ऐन कानुनको सुधारमा सरकारले ध्यान दिने हो भने रुपन्देही देशकै लगानीको पनि केन्द्र बन्नु सक्छ । यसको प्रवद्र्धनका लागि पनि मेला फलदायी हुनेछ भन्ने हाम्रो विश्वास हो ।

मेलाले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमानलाई बनाउला ?

मेलालाई दुई कोणबाट हेर्नुपर्छ । पहिलो तात्कालिक हिसाबले मेला अबधिमा हुने जमघट, किनमेल र मनोरञ्जनात्मक गतिविधिले एउटा स्तरको चलायमान गराउछ । जुन अल्पकालिन हुन्छ । अर्को स्थायी रुपमा चलायमान गराउने भनेको उद्यमशिलताको बिकास, ब्राण्ड प्रमोसन, व्यापारको बिबिधिकरण, ग्राहकको सेण्टिमेट बुझ्ने अबसरको कारण नया बस्तु र सेवाको बिस्तार हुनगई बजार थप गतिशिल र चलायमान गराउन मद्दत पु¥याउछ । त्यसले स्थानीय मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान गर्छ ।

मेलामा कृषि पेभिलियन पनि राख्ने कुरा छ । यस कुराले किसानलाई के फाईदा हुन्छ ?

बुटवल उद्योग बाणिज्य संघले लगातार दुई वर्ष विशिष्टिकृत कृषि मेलाको आयोजना गर्छ र तेश्रो वर्ष औद्योगिक ब्यापार मेला मै कृष पेभेलियन मार्फत कृषकको आत्मबल बढाउदै ढाडस दिने, उत्पादित कृषि उपजजो बजारिकरण गर्ने, उत्पादन लागत घटाउन र खान योग्य बस्तुको उत्पादनका प्रोत्सान गर्ने गरि काउन्सिलिङ गर्ने ब्यबस्था मिलाउने प्रयास गरेका छौं । नेपाल कृषि प्रधान देश हो । कृषिका माध्यमबाट मुलुकको अर्थतन्त्रमा योगदान गर्न सकिन्छ । विशेष गरी मुलुकको अर्थतन्त्र सुधारका लागि प्रविधिको प्रयोग, वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट कृषिमा व्यवसायिक विकास, कृषिमा आधारित औद्योगिक विकास अपरिहार्य छ । त्यसका लागि युवा लगानीकर्तालाई प्रोत्साहनगरी कृषिमा लगानी अभिबृद्धि, कृषि प्रणालीमा प्रविधिको प्रयोग गरि वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट उत्पादकत्व बृद्धिका लागि प्रवद्र्धन गर्न खोजिएको हो । त्यतिले मात्रै पुग्दैन । बस्तुको उत्पादनसंगै त्यसमा आधारित औद्योगिक विकास पनि आवश्यक छ । यी सबैकुरामा लगानी अभिबृद्धि होस् भन्ने हाम्रो चाहना हो ।

मेलामा यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि कस्ता कार्यक्रम बनाउनु भएको छ ?

स्थानीय पर्यटन प्रवद्र्धनकालागि सार्वजनिक यातायातको कनेक्टिभिटि अत्यन्त महत्वपूर्ण विषय हो । हामी यसमा चुकेकै छौ । क्षेत्रीय र राष्ट्रिय स्तरको पर्यटन प्रवद्र्धन आन्तरिक हवाइ कनेक्टिभिटी, होटल र टुर्स एण्ड ट्राभल्सले आन्तरिक प्रवद्र्धन गर्न सहुलियत पुर्ण प्याकेज चलाउन प्ररित गर्ने गरि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु समावेश गर्नेछौ । लुम्बिनी राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य हो । त्यस्तै बुटवलमा ऐतिहासिक जीतगढी किल्ला छ । लुम्बिनी सर्किटलाई प्रवद्र्धन गर्नेगरी मेलाको मुख्य प्रवेशद्वारमा बौद्ध स्तुपा बनाएका छौं । त्यसैगरी नेपालले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लाको प्रचार प्रसारका लागि मेलाको स्टेज जीतगढी किल्लाको आकृति बनाएका छौं । यसले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धन गर्ने हाम्रो विश्वास छ ।

विगतमा खुल्ला आकाशमुनी मेला महोत्सव हुने गरेको थियो । अहिले प्रदर्शनी स्थल निर्माणधिन अवस्थामा छ । निर्माण हुँदै गरेको प्रदर्शनी स्थलमा मेलाको व्यवस्थापनमा कत्तिको सहज भएको छ ?

खासगरी छाना लगाउने बाहेकका पहिल्यै देखि गर्दै आएका सबै कार्यहरु अहिले पनि गर्न परिरहेकै छ । निर्माण कार्य पुर्ण रुपमा सम्पन्न नभएका कारण सरसफाइ गर्न र स्टल निर्माण कार्य थप जटिल भएको छ । तथापि सुब्यबस्थित पार्किङ, अधुरै भए पनि आधुनिक संरचनामा स्टल निर्माण गर्दाको अनुभूति फरक नै छ । प्रदर्शनी स्थल निर्माणले पूर्णता पाएपछि सुव्यवस्थित रुपमा मेला सञ्चालन गर्न सकिएका की भन्ने आशा गर्न सक्छौं ।

मेला आयोजना गर्दा सरकारी तथा अन्य संघसंस्थासंगको सहकार्य कस्तो छ ?

हामी बुटवल मण्डपमा मेला आयोजना गर्ने संघ सस्था, अन्य संघ संस्था, राजनैतिक दल, नागरिक समाज, संचार जगत र खासगरि बुटवलको स्थानीय सरकार बुटवल उपमहानगरपालिका बिच समन्वय र सहयोग सहज छ । व्यवस्थापन र नाफा नोक्सान बुटवल उद्योग वाणिज्य संघको भए पनि आयोजक सबै बुटवलबासी भएको महशुस अनुभूति गर्ने गर्नु भएको छ । यसले आयोजक र व्यवस्थापनमा ठुलो ढाडस प्राप्त भएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

यो मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको भएपनि समग्र रुपन्देहीको मेला हो । यो मेला सफल हुँदा सिंगो रुपन्देहीको साख रहने छ । त्यस्तै उत्पादक र उपभोक्ताको पनि हो यो मेला । यस हिसावले सबैलाई मेला सफल बनाउनको लागि सहयोग गर्न विशेष अनुरोध गर्दछु । त्यसैगरी उत्पादकलाई मेलामा स्टर राख्न र उपभोक्तालाई अवलोकनको लागि पनि विनम्रतापुर्वक अनुरोध गर्दछु ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : ४७ बजे

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण

बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा