१९ मंसिर २०८१, बुधबार | December 4, 2024

लुम्बिनी महोत्सवको तयारी पूरा : उद्योगी-व्यवसायी उत्साहित, बजार चलायमान बन्ने अपेक्षा



भैरहवा । नवौं लुम्बिनी राष्ट्रिय महोत्सव-२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते (बिहीबार) देखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदै छ । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रसारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको जनाएको छ ।

संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले सबै तयारी पूरा भएको र बिहीबार दिउँसो १ बजे महोत्सव उद्घाटन हुने जनाए । महोत्सवको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने तय भएको छ । सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरस्थित मेलास्थलमा बुधबार संघले पत्रकार सम्मेलन आयोजना गरी लुम्बिनी महोत्सवले भैरहवा, रुपन्देहीसहित लुम्बिनी प्रदेश र समग्रमा मुलुककै आर्थिक गतविधिलाई चलायमान बनाउने जनाएको छ ।

‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछन्, मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिनेछ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक कृषिलाई बढी महत्व दिएका छौं । यससँगै पर्यटन र औद्योगिक क्षेत्रको समेत बजारीकरण हुनेछ ।’ ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवलाई यसपटक विशेष बनाउन अध्यक्ष श्रेष्ठले बताए ।

संघका बरिष्ठ उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सहसंयोजक नेत्रप्रसाद आचार्यले महोत्सवले स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्ने जनाए । ‘रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने काम यो महोत्सवले गर्नेछ’, आचार्यले भने ।

महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने बिश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ ।

‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्येक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण हुनेछ’, संघका महासचिव कृष्णप्रसाद घिमिरेले भने, ‘यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुनेछ ।’

महोत्सवकै बीचमा मंसिर २६, २७ र २८ गते तीन दिन कृषि क्षेत्रमा माटोको निःशुल्क परीक्षण हुनेछ । यसका लागि छुट्टै कृषि प्याभेलिएन बनाइएको छ । विगतभन्दा फरक र आकर्षक शैलीमा स्टल बनाइएको छ भने बालउद्यान झनै आकर्षित रहेको आयोजकले जनाएका छन् । महोत्सव अवधिमा मेहन्दी बनाउने तालिम, टिकटक प्रतियोगिता, भैरहवा डान्स आइडल, भ्वाइस अफ भैरहवा हुनेछ । यस्तै, बुद्धस्थलका फोटा प्रदर्शनी र ब्रसर वितरण हुनेछ भने महोत्सवको टिकट काट्ने दर्शकका लागि पुस मसान्तसम्मका लागि लुम्बिनी केलबकारमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ ।

यस्तै, महोत्सव स्थलमा निःशुल्क नेपाल टेलिकमको सिमकार्ड वितरण गरिनेछ । मेला अवधिमा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकारवालासँग अन्तरािक्रया पनि हुनेछ । महिला उद्यमी, हस्तकलालाई अवस्था हेरेर ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले बताइन् ।

कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा भित्रिएको नवीनतम प्रविधि, कृषि औजार, मल, परामर्श लगायत स्थानीय उत्पादन समावेश गरिने छ । कृषिका विभिन्न विधा जस्तै कुखुरापालनको अण्डा, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, केरा खेती, च्याउ र च्याउका परिकारहरुको विक्री तथा प्रदर्शनी गरिनेछ । यस्तै घरेलु अचार, मह, हस्तकलाका सामाग्री, गुन्द्रुक लगायतका सामाग्री विक्रीका लागि राखिने छ ।

यस्तै मुस्ताङको स्याउ, स्याउका परिकारहरु, मर्चवारको तरकारी, प्यासन फल, मकै, दैलेखको गेडागुडी लगायत पूर्वदेखि पश्चिम सम्मका कृषि जन्य उत्पादनहरु मेलाको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा ४० जिल्लाका उत्पादनको प्रशर्दनी हुने छ । ३ सय स्टल रहने महोत्सवमा अटोको समेत विशेष प्रदर्शनी हुनेछ ।

महोत्सव उद्घाटन अघि, भैरहवाको देवकोटाचोकबाट बिहान १०ः३० मा बाजागा, झाँकीसहितको र्याली निकालिनेछ । र्यालीमा ३ सय संघसंस्था ब्यानरसहित सहभागी हुने संघी सदस्य समेत रहेकी र्याली संयोजक रचना क्षेत्रीले जानकारी दिइन् । र्यालीमा सबै संघसंस्थाका गरेर करिब ६ हजार मानिस सहभागी हुने उनले बताइन् । महोत्सव प्रचारप्रसार समिति संयोजक समेत रहेका संघका सचिव मंगल भण्डारी जिल्लाका ग्रामीण र सहरी क्षेत्रसँगै नजिकका भारतीय बजारमा समेत प्रचारप्रसार गरिएको बताए ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा लिइएको उनले बताए । संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । यसअघि आठौपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य हुने जनाएको छ । ‘महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ’, भण्डारीले भने, ‘महत्वपूर्ण आकषृण भनेको राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती हुनेछ । हामीले ख्याती प्राप्त कलाकारलाई महोत्सवमा निमन्त्रणा गरेका छौं ।’ उनले महोत्सवले सबै उद्योगी, व्यवसायी, स्थानीय र कृषक उत्साहित भएको बताए । ‘बजार चलायमान र गुल्जार बन्छ भनेर सबै खुशी हुनुहुन्छ’, उनले भने । महोत्सवमा २ लाख हाराहारी दर्शक आउने अपेक्षा आयोजकको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ५४ बजे

प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन

बेइजिङ । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक

नागरिकले अपनत्व लिने गरि कार्यक्रम प्राथमिकता निर्धारण गर्न मुख्यमन्त्री कंडेलको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले विकास साझेदार संस्थाहरुलाई

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४०

त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण