१४ पुस २०८१, आइतबार | December 29, 2024

समाजमा सकारात्मक प्रेरणाका स्रोत नै फोटो पत्रकार हुन् : मन्त्री यादव

एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रममा उनले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय भएको बताए ।

मन्त्री यादवले भने, “समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरूका चुनौती पनि धेरै छन्, सरकारले तपाईंहरूका समस्याहरू समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधैँ सकारात्मक रहेको छ ।”

यसैगरी, मन्त्री यादवले फोटो पत्रकारहरूलाई आवश्यक पर्ने स्रोतसाधन खरिददेखि उनीहरूको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारको बीमाको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, “समाचार सङ्कलनका क्रममा सबैभन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरूको बीमा सरकारले गरिदिनुपर्छ, त्यसका लागि मैले सहयोग गर्छु ।”

फोटो पत्रकारहरूको सुरक्षाको प्रत्याभूति सरकारले लिने र फोटो पत्रकारका सुखदुःखमा सरकारले सधैँ साथ दिने मन्त्री यादवले विश्वाससमेत दिलाए । उनले भने, “तपाईँहरूको साथ र सहयोग सरकारलाई आवश्यक छ, हामी पनि तपाईंहरूको साथमा छौँ, बसेर सरसल्लाह गरौँ, सरकारले के सहयोग गर्नुपर्छ, सरकार तयार छ ।”

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्त्व रहेकाले फोटोग्राफी मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको बताए । अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उनले बताए ।

अध्यक्ष बस्नेतले भने, “हामीले अनुशासनमा बस्न सकेनौँ, पत्रकारिता बुझ्न सकेनौँ भने र विश्वसनीयता राम्रोसँग बुझ्न सकेनौँ भने क्यामेरा बोकेको कुनै अर्थ हुँदैन ।” उनले केही युट्युब अनलाइनका कारण पत्रकारिता क्षेत्रमा विश्वसनीयता घट्न थालेको र त्यस्ता युट्युब अनलाइनलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकाररिता आफैँमा जोखिमयुक्त पेसा भए पनि आफूहरूले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताए । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरिमा कम्तीमा पनि पाँच सयजना फोटो पत्रकार आबद्ध रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिले शुभकामना प्रदान गरेका थिए । आजको उक्त कार्यक्रममा सातजना फोटो पत्रकार तथा फोटो पत्रकार रामेछाप जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो ।

एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् ।

समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन्। विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।

उक्त कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठ र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरिएको थियो ।

यसैगरी ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ बाट सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजु, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : १२ बजे

घुससहित किताब खानाका शाखा अधिकृत पक्राउ

काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल