१० पुस २०८१, बुधबार | December 25, 2024

दाङको आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि



दाङ । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिइन। पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएकी उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताइन ।

उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए। “यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ”, उनले भनिन्, “हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो” ।

चिकित्सालय परिसरमै भेटिनुभएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए। “२५ रुपैँयामा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनुभएको थियो र आएको हुँ,” उनले भने । २३ प्रकारका अ‍ैषधि निःशुल्क पाएको र सस्तो भएको उनले बताए ।

चिकित्सालयमा अन्तरङ्ग, बहिरङग, कायाचिकित्सा, स्त्री÷प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उनले बताए ।

विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा. सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए ।

चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भन्नुभयो, “अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।”

उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । अझैपनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडि र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए ।

यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उनको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रुपमा विकास गरिएको हो ।

चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनी यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७र७८ मा २४ हजार चार सय २१, आव २०७८र७९ मा ५० हजार ९६ र आव २०७९र८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०र८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : २२ बजे

कर्णाली विकास बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

नेपालगन्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको