९ पुस २०८१, मंगलबार | December 24, 2024

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु



मुस्ताङ । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।

कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ ।

छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग रु २१ करोड ४३ लाख १३ हजारमा सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ ।

घरपझोङ चक्रपथ सडकले जोमसोम–ठिनी–ढुम्बा–चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा–स्याङ–जोमसोम खण्ड सङ्घीय सरकारको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम–ठिनी–ढुम्बा–चिमाङ–छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो ।

मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।

घरपझोङ चक्रपथअन्तर्गत ठिनीखोलामा प्रदेश सरकारमार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो–मार्फा जोड्ने बेलीब्रिज निर्माणका लागि सङ्घीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आह्वान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए ।

ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालयमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनोट भएको निर्माण कम्पनीले काम थालेको छ ।

मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयसूचना अधिकारी घनश्याम रोकाले रु चार करोड ४६ लाख ७० हजार तीन सय को लागतमा ठिनीखोलामा पुल बनाइने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : २७ बजे

झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल

ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्

जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती, बागलुङको किबी बुटवलमा खपत

बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत

रेल्वेको ट्रयाकले सावरसुपखेती अन्योलमा

मोरङ । जिल्लाको पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष