७ पुस २०८१, आइतबार | December 22, 2024

वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात



भैरहवा । चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएको छ । उसले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै, दोस्रो खेलमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल बनायो । उसका लागि ऋषभ जोशीले ४६ र अली हुसेनले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा भारतको लाइफ केयरका रोहित डङ्गवालले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, योगेश कुमार र सक्षमले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भारतको लाइफ केयरले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ९० रन जोड्दै सहजै लक्ष्य भेट्टायो । उसको जितमा दीपक पुनियाले २५ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, दीपान्सु फोरेले २१ रनको योगदान दिए । बलिङमा पाकिस्तानको जावेद गोहारका इमरान नाजिरले १ विकेट लिए । खेलमा भारतका रोहित डङ्गवाल म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा शंकर रानाको उत्कृष्ट ब्याटिङ र साहब आलमको बलिङको मद्दतमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाका अधिकांश ब्याटर नचल्दा निर्धारित खेलमा ९ विकेटको क्षतिमा जम्मा ८६ रन मात्रै जोड्यो । जसमा राज विरा र समानेरा परेराले १६–१६, नानी वासुपल्लीले १५, समन कुमाराले १४ र इन्दुनिल प्रसादले १२ रन जोड । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देही नेपालका साहब आलमले ४ ओभरमा ९ रन खर्चेर ३, दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २–२ तथा वसिर अहम्मदले १ विकेट लिए ।

प्रतिउत्तरमा नेक्सस रुपन्देही नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ८७ रन बनाई जित निकाल्यो । उसका लागि शंकर रानाले २८ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ खेली नटआउट रहे । उनले १७ औं ओभरमा लगातार ४ छक्का समेत प्रहार गरेका थिए । यस्तै, सुमित महर्जनले ३१ रन बनाई नटआउट रहन सफल भए । बलिङमा श्रीलंकाका समानेरा परेराले १ विकेट लिए । नेपालका साहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्तिक १० गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागिता छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोता आयोजना गरिएको जनाए ।

शाहीका अनुसार प्रतियोगितामा पाकिस्तानको राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपीएल खेलेका खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला (वीपी) ले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर जीवनपर्यन्त गरेको संघर्षको सम्झना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ करोड २० लाख खर्च लाग्नेछ । सिद्धार्थनगर नगरपालिकाको सहकार्य, पर्यटन बोर्डको प्रवद्र्धन र मौर्य होटल भैरहवाको आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शनिबार नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ०५ बजे

रवि लामिछाने विरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को

कालिका मानवज्ञानको उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका मानवज्ञान विद्यालयले

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ ।