बुटवल । उसैपनि अर्घाखाँचीको सुपा देउरालीमा धार्मिक पर्यटकको कुनै कमि हुने गर्दैन । हरेक दिन मन्दिर दर्शनार्थिको घुईँचो लाग्ने सुपा देउराली नजिकै ‘ए एस एड्भेन्चर’ संचालनमा आएपछि धर्मिकसँगै फरक पर्यटकका लागि पनि सुपा देउराली पर्यटकको गन्तब्य बन्ने भएको छ । सुपा देउरालीको दर्शनसँगै ‘ए एस एड्भेन्चर’ को मजा पनि लिन पाइने भएपछि आजभोली अर्घाखाँचीको सन्धिखर्क सडक ब्यस्त हुन थालेको छ ।
अर्घाखाँचीको सुपादेउरालीमा अब मन्दिर दर्शनसँगै ‘ए एस एड्भेन्चर’ को मज्जा लिन पाइने भएपछि जिल्लाको पर्यटन ब्यवसायमा एक इट्टा थपिएको एड्भेन्चरका सञ्चालक अर्जुन कुँवरले बताए ।
सुपा देउराली दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गर्दै सुपादेउराली मन्दिर र लाहुरे टाँसिएको भीरले प्रसिद्ध सितगँगा नगरपालिका–२ फलाचौरमा ए एस एडभेन्चर सञ्चालनमा आएको छ । २ रोपनी क्षेत्रफलमा विभिन्न शाहसिक खेलसँगै मनोरञ्जनात्मक उपकरणसहित ए एस एडभेन्चरले शाहसिक खेल जिपलाइन समेत निर्माण गर्ने तयारी गरेको हो ।
स्थानीय दुई युवाको लगानीमा निर्माण गरेको एड्भेन्चरमा पिङको मज्जा लिन पर्यटकहरु मन्दिरदेखि १० मिनेटको पैदल दूरीमा रहेको स्थानमा पुग्नु पर्दछ । सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब चार हजार ५०० फिटको उचाइमा रहेको छ । त्यो भन्दा केही बढी उचाईमा एएस एड्भेन्चर निर्माण गरिएको छ । एड्भेन्चरका सञ्चालक कुँवरले सुपादेउराली मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले अव एड्भेन्चरको रमाइलो लिन पाउने जानकारी दिए ।
पर्यटकहरुले एक हजार रुपैयाँको कम्बो प्याकेज अनुसार झड्का पिङ, झुला खेल्न पाउने छन् भने, हत्केलाको भ्यूप्वइन्ट तथा सिसाको भ्यूप्वयन्टबाट सुपादेउराली मन्दीर, लाहुरे टाँसिएको भिर अवलोकनका साथै सेल्फी खिच्न पाउनेछन् । बालबालिकाहरुका लागि समेत झुला तथा विभिन्न खेलको व्यवस्था गरिएको कम्पनीका सञ्चालक कुंवरले जानकारी दिए । यहाँबाट लाहुरे बजारसम्मको दृश्य हेर्न मिल्ने गरी एड्भेन्चर तयार गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटक लक्षित संरचनाहरु निर्माण गरेर शाहसिक खेल तथा मनोरञ्जनात्मक स्पार्ट निर्माण गर्न लागिएको सञ्चालक कुंवरले जानकारी दिए । निकट भविष्यमै जिपलाइन सञ्चालनको तयारीमा रहेको तथा अन्य शाहसिक खेलहरु पनि भित्र्याइने उनले बताए । हालसम्म डेढ करोड बढी लगानी गरिसकेको एएस एडभेन्चर कम्पनीले सबै संरचना तयार पार्नका लागि साढे २ करोड खर्च अनुमानसहित गुरुयोजना बनाएको जनाएको छ ।
इतिहासमा अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पत्थरकोटमा नुन बोक्ने ढाक्रे आवतजावत गर्दा सुपा देउरालीमै बास बस्ने गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । पहाडको खेपीजस्तोमा देवता भेटिएपछि २०४० सालदेखि त्यहीँ पूजा गर्न थालिएको हो । नर्तनाञ्चल पहाडको बिचबाट सदरमुकाम जोड्न पूर्वपश्चिम राजमार्गको ‘गोरुसिंगे–सन्धिखर्क’ सडक निर्माण भएपछि भने पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटोको छेउँमा सारिएको हो ।
खाँचीकोट र नरपानीका स्थानीयवासीले कच्ची मन्दिर बनाएर पूजाआजा चलाईराखेकोमा वि.संं २०६४ सालमा बाबा गुरुको नामबाट चिनिने नरनारायणले करिब तिन करोडको लगानीमा आधुनिक मन्दिर बनाइदिएका हुन् । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । नयाँ मन्दिर बनेपछि सुपा देउरालीमा भक्तजनको आकर्षण थपिएको हो । दर्शनार्थी थपिएसँगै मन्दिरको आम्दानी पनि पहिलेको तुलनामा तेब्बर भएको छ । सुपादेउरालीको महत्व बढ्दै गएपछि यो ठाउँलाई पर्यटकीय विकास गर्न दुई युवाले मन्दिरका दर्शनार्थी लक्षित लगानी गरेका हुन् ।
सुपादेउरालीमा पर्यटक आउने र फर्किने मात्र अवस्था रहेको हुँदा यहाँको पर्यटन प्रवद्र्धन हुन नसकेकोले पर्यटनमा लगानी गरिएको एएस एडभेन्चरका अर्का सञ्चालक सिर्जन थापाले बताए । “साढे दुई करोडसम्म लगानी पु¥याउने हाम्रो योजना छ”–उनले भने ।
आजभोलि यस क्षेत्रलाई बुटवल, पाल्पा, दाङ, सल्यान, प्युठान, भैरहवा, कपिलवस्तु लगायत जिल्लाका विद्यार्थीले शैक्षिक भ्रमणको केन्द्र पनि बनाएका छन् ।
रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट लुम्बिनी दर्शन गर्न पुगेका केही पर्यटक यहाँसम्म दर्शन गर्न आउँछन् । पछिल्लो समय भारतबाट समेत सुपा देउराली दर्शन गर्न आउने गरेको स्थानीयको भनाई छ । सरकारले घोषणा गरेका एकसय उत्कृष्ट गन्तव्य सूचीमा सुपा देउराली मन्दिर पनि समावेश छ ।
अप्ठ्यारो समस्या परेको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका भाकल गरी बली चढाइन्छ । सुपामा चढाएको बोका, कुखुरा घर लिएर जान नहुने र बाटो मै सकेर जानुपर्ने प्रचलन रहेकाले पनि भाकलको पूजा गर्न आउनेहरुले मन्दिर आसपासमा बली चढेको कोका, पाठी, कुखुरा पकाएर खाने र धार्मिक पिकनिक मनाउने चलन रहँदै आएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोँचमा प्राचीन शैलीमा यो मन्दिर निर्माण गरिएको छ ।
प्रतिक्रिया