३० आश्विन २०८१, बुधबार | October 16, 2024

विपद्का बेलामा सबै मिलेर पीडितलाई सहयोग गरौँ : अध्यक्ष प्रचण्ड



काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिए । भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिँदै उनले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गरे ।

रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के–कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताए । विगतमा विनाशकारी भूकम्पका बेलामा पनि आफू प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सक्दो सहयोग गरेको उनले स्मरण गरे । उनले सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गर्दै सरकारले थालेका सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताए ।

“मौसमविद्हरुले अविरल वर्षा हुँदैछ है भनेर सचेत गराएका थिए । सरकारलाई पूर्वानुमानअनुसार खोज, उद्धार र राहतको सबै तयारी गर्न आग्रह गरेको थिए । अहिले क्षति भइसकेपछि पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नका निम्ति ढिला गर्न हुँदैन”, अध्यक्ष प्रचण्डले भने । यसबारेमा सरकार र राजनीतिक दलहरुबीच छलफल गर्ने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले रोशी क्षेत्रमा बढी क्षति हुनुको कारण यहाँका खानी र क्रसर उद्योग रहेको उल्लेख गर्दै क्रसर उद्योग र खानीबारे नीतिगतरुपमा नै सोच्नुपर्ने सरकारलाई सुझाव दिने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको समग्र मानवीय र भौतिक क्षतिका विषयमा जानकारी लिनुका साथै धुलिखेल अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उनीहरुको उपचारका बारेमा भइरहेको प्रयास र बिरामीको अवस्थाबारे जानकारी लिएका थिए ।

अध्यक्ष प्रचण्डको साथमा यहाँ आएका सांसद सूर्यमान दोङले खोज, उद्धार, राहत र अस्थायी बासस्थान निर्माणका साथै पुनःस्थापनाका लागि काम गर्न आवश्यक रहेकामा जोड दिए । उनले तत्काल ठाउँ ठाउँमा खाद्यान्न, स्वास्थ्य, खानेपानी र पुनःस्थापनाका लागि विद्युत्, सञ्चार र सडक सञ्जालको आवश्यक रहेकाले बिपी राजमार्गलाई अस्थायीरुपमा सञ्चालन गर्न आवश्यक पहलकदमीका साथ काम भइरहेको बताए ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले तत्कालका लागि खानेपानी, खाद्यान्नको अभाव र क्षति भएकालाई अस्थायी बासस्थानका लागि सङ्घीय सरकारले पहल गर्न आवश्यक रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले अस्थायी रुपमा बाटो जोड्न उपकरण ठाउँ ठाउँमा भए पनि इन्धन पुर्‍याउन गाह्रो भइरहेकाले त्यसका लागि पहलकदमी लिन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाको उद्धारको काम जारी रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जिल्लामा हालसम्ममा घाइते तथा अन्य समस्यामा परेका गरी सात सय ७१ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत र अन्य तीन हजार दुई सय ९९ जनाको समेत उद्धार गरिएको, ६ सय घर जोखिममा रहेकामा त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको, राहत तथा स्वास्थ्योपचारको व्यवस्था गर्ने लगायतका काम भइरहेको जानकारी दिए ।

यही असोज ११ र १२ गते आएको बाढी पहिरोबाट हालसम्म जिल्लामा ६९ जनाको मृत्यु, ७२ जना घाइते तथा सातजना बेपत्ता भएका सहायक प्रजिअ पौडेलले बताए । घाइतेमध्ये ५० जना उपचारपछि घर फर्किसकेका छन् बाइस जना अझै अस्पतालमा उपचाररत छन् । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : १७ बजे

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल

खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको

तीजमा महिलालाई साडी दसैंमा बिपन्नलाई मासु चिउरा : भरतपुर-१२ का वडा अध्यक्षको कर्म

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र

सवारी दुर्घटना गराई भागेपछि…

काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको