१३ पुस २०८१, शनिबार | December 28, 2024

डढेलोको असर : देखिन छाडे जङ्गलमा जनावर



म्याग्दी । वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन् ।

डढेलोका कारण जङ्गल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका-१ निस्कोटका राम पुनले बताए । “रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जङ्गलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्”, उनले भने ।

जङ्गलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका-६ उपल्लो दुखुका यमन पुनले बताए । “डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जङ्गलमा कुनै चहलपहल छैन । जङ्गली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्”, पुनले भने ।

जङ्गलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रे लगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका-३ भकिम्लीका तेजबहादुर घर्तीले बताए । घर्तीले भन्नुभयो, “अचेल यी चरा देखिँदैनन् ।” वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए ।

समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि भएको थियो । डढेलोले जङ्गल सखाप पारेपछि गाउँमा झन् बढी जङ्गली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका-१ निस्कोटका टकबहादुर विक बताउँछन ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पु¥याएको छ । डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ । जिल्लाका मालिका, मङ्गला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन ।

डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ । डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी, २१ दशमलव २७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ ।

डिभिजन कार्यालय मातहतका ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ४ : ०५ बजे

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा

गुल्मीको रिडीबाट पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

रिडी । गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ

कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

हुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचरसहित)

सिमकोट । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि