११ पुस २०८१, बिहिबार | December 26, 2024

नेपाली नारीको पर्व तीज सुरु : व्रत बस्ने शक्तिका लागि दरको तयारी



काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ ।

विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घ्यूउ खाँदा वर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा प्राथमिकताका साथ देखाउन थालिएको छ ।

नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृतिमा रुपान्तरित हुँदैछ तीजको संस्कृति

पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढेको गुनासो सुनिन थालेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चीज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उनी सुनाउँछन ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । महिनौँ अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन ।

पछिल्लो समय सरकारीलगायतका कार्यालयमा एक महिनाअघि देखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । संस्कृतिलाई विकृतिका रुपमा लैजान नागरिकको सरकारी करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।

दर खाएर सुरु गरिँदै चार दिने तीज

बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यसवर्ष भदौ २२ गते शनिबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ २३ गते आइतबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

हरितालिकाको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।

तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडा दसैँ र तिहार नेपालीको घर आँगनमा आउने गर्छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ६ : ३१ बजे

सैनामैनाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट बलात्कार अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ ।

औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना छन्

बुटवल । देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना