३१ भदौ २०८१, सोमबार | September 16, 2024

पाल्पामा आज १४८ वर्ष पुरानो भगवती जात्रा : राष्ट्रपति पौडेल सहभागी हुँदै (जात्राको इतिहाससहित)



नेपालगन्ज । नेपाल-अंग्रेज युद्धमा जित हासिल गरेको खुसियाली स्वरुप पाल्पाको तानसेनमाआज भगवतीजात्रा निकालिँदैछ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन रहँदै आएको छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा आजको दिन यो जात्रा मनाउने गरिन्छ।

जात्रा मनाउन जिल्ला वाहिर गएर वसोवास गर्नेहरू समेत आज तानसेन फर्कने गर्दछन् । आज तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरिएको छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्धसँग गाँसिएको छ ।

पाल्पाका विभिन्न स्थान र छिमेकी जिल्लावाट आएकाहरूले आज मध्यरातीबाटै भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदी बली दिएर पूजा चढाउने गर्दछन् । भगवती मन्दिरमा तीन पटक घुमाएर रथ निकालिने गर्दछ । रथ निकालिनु अघि नेपाली सेनाको टुकडीले बढाई दिने चलन छ। रथ निकाल्नु अघि जिल्ला प्रशासन पाल्पा, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको गणले भगवती मन्दिरमा विशेष पुजा दिने र त्यसपछि बजार घुमाइने गरिन्छ ।

बजार घुमाउनु अघि नवमीको दिन सुर्योदय नहुँदै बजारका महिलाहरू झिसमिसेमै देवीको पुजा गरिसकेका हुन्छन्। मध्यान्हमा भगवती सवार रथलाई नगर परिक्रमा गराइन्छ । रथ तान्नका लागि परापूर्वकाल देखि कुमाल जातीका जवानहरुलाई लगाउने गरिएपनि पछिल्लो समयमा भने रथ तान्नका लागि सबैले साथ दिने गरेका छन् । रथको दुवै तिर तेर्साईएका दुई बलिया नोलहरूलाई काधमा बोकेर नगरबासीको जयजयकारको गुन्जन ध्वनी सहित रथयात्रा निकालिने गरिन्छ ।

यस्तो छ भगवती जात्राको इतिहास :
काजी अमर सिंह थापाको कार्यकाल सकिँदा उनका नाति नयन सिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए। सोही वेला अंग्रेजहरूले पाल्पा कब्जा गर्न सिउराज, बटौली हुँदै सेना पठाएपछि भीषण युद्ध भएको थियो । अंग्रेजहरूले नेपाल आफ्नो हातमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाए।

अमरसिंह थापाको समयमा भएको ‘अङ्ग्रेज–गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले गरेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जितगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्य आज पनि खुल्न सकेको छैन । तर नालापानी, देउथल आदि ठाउँका किल्ला र जितगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ स्थल मार्गबाट अङ्ग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर (चितवन क्षेत्र) बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जितगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो ।

जतिबेला विशाल नेपाल बनाउने गोर्खालीहरुको अभियानमाथि अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका वयस्क थिए । भीमसेन थापाले उक्त युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो धर्मपुत्र (अघोषित) उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महŒवपूर्ण किल्ला जोडिएको थियो ।

सेनकालमा बुटवल लगायत सेरोफेरोको भू–भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपाल सेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनी सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । जुम्ला राज्यलाई नेपाल अधिराज्यमा विलय गरेपछि मुस्ताङ राज्य जुन जुम्लाको अधिनमा थियो स्वत नै नेपाल अधिराज्यमा विलय भयो । यता गोर्खालीहरुको भने सेन राज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनुपर्ने दाबी रहेको थियो । सोहि अनुसार जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुँदे (सवाल) पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनी सरकार र नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनी सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो ।

अंग्रेजले पाँच ठाउँबाट आक्रमणको तैयारीमा सतलज र यमुना बीचको भू–भागलाई कब्जा गर्न रुपारबाट कर्णेल डेभिड अक्टरलोनी, देहरादुनको भू–भाग कब्जा गर्न सरहानपुरबाट मेजर जनरल रोवट रालो जिलेप्सी, (उनको नेपालसँगको युद्धमा मृत्यु भएको थियो) गोरखपुरबाट मेजर जनरल जोन सुलिभान उड, मकवानपुरको बाटो भएर काठमाडौ हान्न दानापुरबाट मेजर जनरल वेनेट मार्ले र कोशीदेखि टिस्टा नदीसम्मको क्षेत्र हेर्न क्याप्टेन वैरी ल्याटर खटिएका थिए । मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दुस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना थियो ।

त्यसबखत यातायातका असुविधा भएकोले हतियार र खरखजानाहरु गाडाबाट ढुवानी गर्नुपर्ने साथै रसद पानी र अन्य सामान ढुवानी गर्न कुल्लीको व्यवस्था गर्दागर्दै ढिलो भइसकेको थियो । त्यसै बेला आठ हजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भएका थिए । आफ्नो पहिलेको योजना अनुसार लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गनसहित बुटवल गौडा नै सबैभन्दा पहिले आक्रमण गर्ने निधो गरी उनीहरु बुटवलतिर बढेका थिए ।

नेपालतिरको तैयारीमा बुटवल बजारको छेउमा तिनाउ नदीको किनारमा रहेको जितगढीबाट जमिन अग्लिदै उच्च पहाडको टुप्पामा नुवाकोटगढी रहेको र सो गढीबाट पहाडै पहाड भएर पाल्पा जाने बाटो पनि छेकिने र हाल पाल्पा जाने राजमार्गको बाटोको निगरानी पनि गर्न सकिने अंग्रेजहरुको योजना रहेको थियो ।

उक्त गौरव बोकेको सवूज पल्टनसहित गुरु वक्स गुल्मको बल थपी प्रधानमन्त्री भीमसेन थापाले आफ्ना भतिजा कर्णेल उजीर सिंह थापालाई सो गढीमा पठाएका थिए । उजीर सिंह जितगढी पुग्नु अघि करिब ५०० नफ्रि भएको गुरु वक्स गुल्मको दुईसय जवान र सवूज पल्टनको पाँच टुकडी लिई जितगढी किल्लाका कमाण्डर वीरभञ्जन पाण्डे जितगढीमा डटेका थिए ।

कम्पनी सरकारतिरको जनरल उडले पाल्पा हान्न दुईवटा बाटाहरु अपनाएका थिए । पहिले पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने, अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा हान्ने योजना थियो । पहिलो योजनालाई नुवाकोट गढीको वरिपरि तीन माइलसम्म पानी नभएको कारण देखाई कम्पनी सरकारको युद्ध सल्लाहकार कनकनिधि तिवारीले असहमत जनाएका थिए ।

स्यूराज क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरु सबै फौज र तोपहरु लिएर जनरल उडको नेतृत्वमा जनवरी ३, १८१५ का दिन बुटवलतिर लागे । घना जंगल भएको बाटो त्यसमा पनि ढड्डीको जंगलले बाटो तय गर्न पनि कम्पनीको फौजलाई गाह्रो भएको थियो ।

फौज मार्च गर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र रहन गएको थियो । आफु पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४० र ५० गज पर किल्लाजस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रर्दशकको रुपमा आएका कनकनिधि तिवारीलाई खोजे तर कनकनिधि तिवारी कहीँ पत्ता लागेनन । जनरल उडले सेनाको सानो डफ्फा इन्जिनियर एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । अंग्रेज सेनाले वरिपरि हेर्दा किल्ला खाली जस्तोदेखि फर्कन मात्र के लागेका थिए किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुई जना त्यही ढले अरु बाचेर भागे ।

केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाँडे । एउटा समूहमा ग्रेनेडियर र दुइ कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को समूहमा युद्धको नेतृत्व जनरल उड आफैले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भएको थियो ।

किल्लाको दाहिने तिरबाट हमला गर्नेहरुको टोलीबाट नेपाली फौजका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए । सरदार थापाको वीरगतिसँगै कर्णेल उजीर सिंह थापाको नेतृत्वमा नुवाकोटमा रहेको बाँकी सवूज र गुरुवक्स पल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न आइपुगेका थिए । लडाईंमा कम्पनी फौजका ब्रिगेड मेजर हैट र इन्जिनियर लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भएका थिए ।

गोरखालीहरुको सैनिक शक्ति भन्दा अंग्रेजहरुको शक्ति ज्यादा भएकोले अंग्रेजहरुले युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाँउ छाडिसकेको थियो । लगातार युद्ध लड्दा पनि गोर्खाली फौज पछि हट्ने छाँट नदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसँग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए । पहिलो पटकको युद्धमा कतिको ज्यान गयो भन्ने सम्बन्धमा इतिहांसकारहरुका बीच फरक फरक तथ्यांक रहेको छ ।

बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुदै जनवरी ३ तारिखका दिन लोटन पुगे । जनरल उडलाई बुटवल जितगढीको विफलताले पिरोलिरहेको थियो । उनी निरन्तर जितगढी हान्ने प्रयत्नमा लागि नै रहेका थिए । एकैचोटि बुटवल नहानी पहिले स्यूराज, तुलसीपुर आक्रमण गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको थाहा पाउने बित्तिकै बटौलीमाथि दोस्रो आक्रमण सुरु गरेका थिए । यसबेला मनसुन सुरु भइसकेको र मौसम खराब भइसकेको थियो । वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै पुरानो खस्यौली हाल बुटवल उपमहानगरपालिका तिरबाट बुटवल दरबारमा तोप आक्रमण सुरु गरेको थियो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुई तोपका गोला छोडे । अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन । अंग्रेज फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शुन्य भएको अनुमान गरे । कुनै किसिमको खतरा नदेखि फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । उडका सेनाहरुले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । धरै अंग्रेज सेनाहरुको तिनाउ किनारमै मृत्यु भयो भने बाँचेका सेनाहरु भागाभाग भए । वर्षा सुरु भइसकेको र मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल र साहस समेटिएको बुटवल र जितगढीसँग फेरि झुके र आफ्नो सेना त्यहाँबाट फिर्ता बोलाउने निर्णय गरे ।

कम्पनी सरकारको अत्याधुनिक हतियारका अगाडि घरेलु हतियारले लड्नु नेपाली फौजका लागि सानो कुरा थिएन । अंग्रेज सेनाहरु पैसाका लागि लडेका थिए भने उजीर सिंह थापाका सेना देश जोगाउन लडेका थिए । युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन भन्ने उक्तिलाई कर्णेल उजीरले पुष्टी गरेका थिए । नेपालीसँग जुन राष्ट्रियताको सोच थियो, त्यो विचार नै पर्याप्त थियो । अत्याधुनिक हतियारको कमी र कमजोर सैन्य शक्तिका कारण त्यति बेलाको लडाइएँमा नेपालीले पाँच किल्ला मध्ये सिन्धुली गढीमा भौगोलिक कारणले विजय प्राप्त गरेपनि अन्य ३ किल्लाबाट पछाडि फर्कनु मात्र परेन नौ हजार चार सय वर्गकिलोमिटर भू–भाग गुमाउन प¥यो ।

मुलुकले त्यति धेरै क्षती ब्यहोर्नु पर्दापनि बुटवल क्षेत्रमा जुन युद्ध भयो, नेपालले एक इन्च भू–भाग पनि गुमाउनु परेन, एक पटक होइन पटक पटक कम्पनी फौज खेदिए । यसरी बुटवलको जितगढीले नेपाली इतिहांसमा उच्च योगदान पु¥याएको छ ।

जितगढीको लडाईंमा सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पांच सय जनाले वीरगति प्राप्त गरेपछि मात्र नेपालीहरुले युद्ध जितेका थिए । युद्धमा काजी वीर भञ्जन पाण्डेको सुझबुझ र कर्णेल उजीरसिंह थापाको रण कौशलता नै जितको प्रमुख कारण थियो ।

बिश्व बिजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जितगढी भनिएको इतिहासकारहरुको तर्क छ ।

मनोकामना देवी सँग प्रकट गरी युद्ध लड्न गएको र अग्रेजहरू उजीरसिंहको लडाइँ हार खाई फर्केको ईतिहासमा लेखिएको छ। सन् १८७१-७२को नेपाल अंग्रेज युद्ध पछि कर्णेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा एक विशाल तीनतले पेगोडा शैलीको मन्दिर वनाए। सो मन्दिर निर्माणको काम सन् १८७५/७६मा सकिएको थियो। यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको इतिहासमा पढ्न पाइन्छ ।

सन्दर्भ स्रोत : निर्मल श्रेष्ठबाट लिखित जितगढीको इतिहास / इतिहासकार  निर्मल श्रेष्ठ र जितगढी संरक्षणका अभियन्ता रबिन्द्रगोपाल लाकौलसंग गरिएको कुराकानी /

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ८ : ४५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित