४ मंसिर २०८१, मंगलबार | November 20, 2024

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरु



भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ ।

सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाइजात्रा मनाइएको छ ।

दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको संस्कृतिविद् बिन्दा जोशीले जानकारी दिए । आज गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको उनले जानकारी दिए ।

‘घिनिताङ घिनिता घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा रहेको छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि ज्यादै सहभागिता रहेन थालेको छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए ।

जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार-कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, काठमाडौं, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।

जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाचसमेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्र भरिबाट निकालिएको अन्य तमाचा र सबैभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि आजको जात्रा समापन हुने परम्परा छ ।

परालबाट बनेको भैरव र अजिमाको तमाचा निस्किएपछि अन्य तमाचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिन्छ । साताव्यापी मनाउने जात्रामा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ । सात दिनसम्म मनाइने गाइजात्रामा भोलिदेखि घिनताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइने गरिन्छ ।

कृष्णजन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पूजागरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतआत्माहरुले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिए । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताए ।

पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  २ : १९ बजे

उपमहानगरको योजना अनुगमनमा मेयर आफै सडकमा निस्किए

बुटवल । बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा भएका सडक बिस्तार तथा

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी

नेपाली कूटनीतिज्ञ तथा सरकारी अधिकारी अध्ययनका लागि भारत भ्रमणमा जाँदै

काठमाडौं । नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६

नागरिकलाई उठीवासको त्रासमा राख्ने काम नहोस् : अनुगमन टोली

काठमाडौं । उठीवास अनुगमन टोलीले नागरिकलाई त्रासमा राख्ने काम नगर्न

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौं । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता