३१ भदौ २०८१, सोमबार | September 17, 2024

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया सङ्ग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ”, सञ्चारमाध्यमका भूमिकाबारे स्पष्ट पार्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “तर एक पक्षीयरुपमा विरोध मात्रै गर्नु निश्पक्ष पत्रकारिता होइन, सञ्चारमाध्यम र स्वयम् पत्रकार पनि रचनात्मक हुनुपर्छ ।” उनले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भए पनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्ति केन्द्रित आलोचनामा सीमित भएकामा चिन्ता व्यक्त गरे ।

पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरे मात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने उल्लेख गर्दै मन्त्री गुरुङले भने, “सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ, गलत काममाथि प्रश्न उठाउनुपर्छ, सही र गलत छुट्टयाउन सक्नुपर्छ, सरकार र समाजलाई सभ्य बनाउन केन्द्रित हुनुपर्छ ।”

जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङको भनाइ थियो । “वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ”, उनले भने । उनले अमर्यादित अभ्यासले सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राखे ।

वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको उल्लेख गर्दै प्रवक्ता गुरुङले सरकारका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउन भने मिडियाले सहयोग गर्नुपर्छ भने । ‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिए । राससले स्थापना गरेको मिडिया सङ्ग्रहालयबाट सञ्चार क्षेत्रको विकासको अध्ययन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले पछिल्लो पुस्ताका लागि महान् काम भएको उल्लेख गरे ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रासस लामो इतिहास भएको संस्थाका रुपमा रहिआएको उल्लेख गर्दै यसले गरेका कामलाई समय क्रमसँगै हेर्ने हो भने मिडिया विकासको जीवन्त अवस्था चित्रण हुने बताए । व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रित हुन रासस व्यवस्थापनलाई निर्देशन दिँदै उनले समाचारका विषयवस्तुको विविधीकरणमा ध्यान दिन आग्रह गरे । सचिव अर्यालले राससको स्थापनाकालदेखि हालसम्मका बाटोलाई सङ्ग्रहालयले दृश्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले नेपालको मिडिया विकासको इतिहासलाई जीवन्त बनाउन सङ्ग्रहालयको अवधारणा कार्यान्वयनमा लैजानु रासस व्यवस्थापनको सकारात्मक पहल भएको बताए । उनले सञ्चार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्नु उपयुक्त हुने सुझाव दिए ।

“सङ्ग्रहालयमा सुरुआतदेखि वर्तमानसम्मको स्पष्ट प्रस्तुति हुनुपर्छ, राससको बुलेटिन, भाषा, शैली पुस्तिकासमेत समेट्नुपर्छ”, वरिष्ठ पत्रकार दाहालले भने ।

वरिष्ठ पत्रकार एवं प्राध्यापक रामकृष्ण रेग्मीले मिडिया सङ्ग्रहालय स्थापना गरेर राससले ऐतिहासिक काम गरेको उल्लेख गरे । सङ्ग्रहालयमा मिडिया उपकरणसँगै ‘मिडिया कन्टेन्ट’लाई पनि समेट्न सुझाव दिँदै उनले ऐतिहासिक सामग्रीको सङ्कलन, संरक्षण र त्यसको उचित प्रस्तुतीकरणसहित प्रदर्शनीमा राख्नु उचित हुने बताए ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले राससको सङ्ग्रहालयले ऐतिहासिक सामग्री सङ्ग्रहको संस्कृतिलाई बढवा दिएको दिएको बताए । “पूराना सामग्रीको ‘आर्काइभ’मा समस्या छ, मिडियाका सामग्रीको सङ्ग्रहमा सबैले ध्यान दिनुपर्छ, संस्कृति र स्मृतिलाई जीवन्त राख्ने काम गरौँ”, उनले भने ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्ग्रहालयले नेपालको मिडिया विकासका सम्बन्धमा अध्ययन गर्न नयाँ पुस्तालाई सहयोग गर्ने विश्वास व्यक्त गरे । मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको उनको भनाइ छ ।

राससले सेवा विस्तार र विविधीकरण गर्दै गइरहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष झाले आगामी भदौ महिनादेखि २४ सै घन्टा समाचार सम्प्रेषणको तयारी गरिरहेको जानकारी दिए ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री सङ्ग्रहालयमा राखिएको बताए । उनले मिडिया सङ्ग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले नयाँ पुस्ताका लागि मिडिया विकासको अध्ययन गर्न सङ्ग्रहालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय मुद्रा सङ्ग्रहालय छाउनीका प्रमुख सुवास डङ्गोलले पूराना ऐतिहासिक सामग्रीको सङ्गह गर्नु सकारात्मक काम भएको बताए । राससका नायब महाप्रबन्धक राजु शाक्यले सङ्ग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ५९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित