३१ भदौ २०८१, सोमबार | September 17, 2024

कुवापानीको पहिरोले आदिबराह पुरियो



पर्वत । जिल्लाको जलजला गाउँपालिका-२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला-५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो ।

गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताए । गत वर्ष मर्मत गरिएको ताल गत बुधबार आएको पहिरोले पुनःपुरिएर पहिलेकै अवस्थामा पुगेको उनले जानकारी दिए ।

अविरल वर्षासँगै बुधबार आएको पहिरोले एउटा घर जोखिममा परेको छ भने सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला-४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताए ।

समुद्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताए । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेका छन् । ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेको उनले जानकारी दिए ।

स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर आकर्षक र मनमोहक देखिन्छ । “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२ औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएका थिए । अहिले पनि यहाँका सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढाटाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्छ”, उनले भने ।

कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि तालमा कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरुको बराह मन्दिर दुई वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले यहाँ मोटरबाटोकोसमेत सुविधा पुगेको छ ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय लालबहादुर अधिकारीले बताए । घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

“छेउमा रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन”, अधिकारीले भने, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले थप आकर्षक बनाएको छ । बराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।”

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै नसक्ने स्थानीय बताउँछन् । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या भएको स्थानीय अधिकारीले बताए ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घर विस्थापित बनेका थिए । यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेत बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो ।

विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक बिरास मल्ल र आइटी इञ्जिनियर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : १४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित