३१ भदौ २०८१, सोमबार | September 17, 2024

वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राखे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पु-याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त ग¥यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।” नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेलेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गरेको बताए। उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे। देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उनको भनाइ थियो ।

पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “पञ्चायतका विरुद्धमा सङ्घर्ष गरीरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई उहाँले समान स्नेह गर्नुहुन्थ्यो । हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौँ । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्नेभन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।”

अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको राष्ट्रपति पौडेलले बताए । उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले भने, “नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौँ तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पु-याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नबिर्सौं ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै आर्थिक वर्ष २०६८÷६९ देखि नै पुरस्कार दिन थालेको स्मरण गरे। यस वर्ष पुष्पलाल भारत निर्वासनमा रहँदा बस्नलाई कोठा दिने विश्वनाथ सिंहलाई मरणोपरान्त पुरस्कार दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयप्रति उनले आभार प्रकट गरे । स्व सिंहले पुष्पलाललाई दिएको कोठा उनको सम्मानस्वरुप अहिले पनि खाली गरेर राख्ने गर्नुभएको पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले सुनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलाललगायत नेताले लोकतन्त्रवादी र वामपन्थी मिल्नुपर्छ भनी राखेको विचारकै कारण अहिलेको व्यवस्था स्थापनाका लागि सहयोग पुगेको बताए । अहिलेको संविधान निर्माणमा पनि पुष्पलाललगायत नेताले गरेको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

लोकतन्त्रवादी दल र वामपन्थी दलले विकास तथा समृद्धिका लागि सहकार्य गरी निर्वाचनमा प्रतिस्पर्धाको अभ्यास सुरु गरेको मन्त्री पाण्डेले जानकारी गराए । राजनीतिलाई पुष्पलालको बेलाको जस्तै त्याग, सङ्घर्ष र बलिदानको बाटोमा हिँडाउनुपर्ने उनको भनाइ थियो । राजनीतिलाई ज्ञान र सदाचारको बाटोमा हिँडाउन सकेमात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने उनले सुनाए ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले पुष्पलालको आदर्श व्यक्तित्वको अनुसरण गरेर अघि बढ्नेलाई पुरस्कारका लागि छनोट गर्ने गरिएको बताए । सो अवसरमा पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० राजनीतिक÷सैद्धान्तिक विषयगत क्षेत्रतर्फ सिद्धिलाल सिंहलाई प्रदान गरिएको थियो । यसैगरी, पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० इतिहास विषयगत क्षेत्रतर्फ स्व डा विश्वनाथ सिंहलाई प्रदान गरिएको थियो । पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रतर्फ चतुर्भुज आत्रेयलाई प्रदान गरिएको थियो । तीनवटै पुरस्कारको राशि रु एक लाख रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ४९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित