१५ पुस २०८१, सोमबार | December 30, 2024

ठगी र कर्तव्य ज्यान मुद्दाको आरोपितलाई लुम्बिनी सरकारको मन्त्री बनाएको भन्दै आलोचना



काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको आरोपित बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधबार कुर्मीले विनाविभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन् ।

मन्त्री बादशाहविरुद्ध एकल महिला निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको निर्मलाका परिवारको आरोप छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको परिवारको दाबि छ ।

जानकी गाउँपालिका परस्पुरकी निर्मलादेवीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको यसअघि गृह मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा पनि उल्लेख छ। तर, उनीविरुद्ध अभियोगपत्र भने दायर भएको छैन ।

एकल महिलाको सम्पत्तिका लागि नेपाली कांग्रेसका सांसद कुर्मीको निर्देशनमा २०७५ सालमा उक्त घटना भएको आरोप रहेको छ। बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म अज्ञात छ।

ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेको भन्दै अझ अहिले मन्त्रीनै बनेपछि सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ ।

एकल महिलाको नाममा रहेको ४ बिगाहा बढी जमिन हडप्नकै लागि तत्कालिन सत्तारुढ दलका सांसद देखि भूमाफियाको संलग्नतामा ती महिलालाई सार्वजनिक स्थानमा कुटपिट गर्ने देखि जवर्जस्ती बिबाह गरिदिने र सामुहिक बलात्कार गर्ने जस्ता कार्य गरिएपनि प्रहरी र न्यायालयबाट न्याय नपाएको भन्दै अधिकारकर्मी रुबी खान सहितको टोलिले लगातार आन्दोलन गर्दै आएका छन् ।

यस्तो छ घटना :
निर्मला कुर्मीको नाममा रहेको नेपालगन्ज–१७ परस्पुरमा ४ बिघा १३ कट्ठा जमिन नै निर्मलाको घर उजाड्ने र उनको मृत्युको कारण बनेको रुबी खान सहितको अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

बाँकेको नेपालगन्ज-१७ कि निर्मलादेवी कुर्मीका श्रीमान‍्को २०६२ मा मृत्यु भएको थियो। श्रीमानको मृत्युको चार वर्षपछि २०६६ मंसिरमा निर्मलादेवीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय रूपमा मृत्यु भएको थियो।

श्रीमान् र छोराको मृत्युपछि निर्मलादेवी एकल महिलाको रूपमा बस्दै आएकी थिइन् । यही क्रममा घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए। त्यसपछि ०७५ मा निर्मलादेवी बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरूको नाममा सारिएको थियो। उनी पनि बेपत्ता भएपछि २०७८ असोजमा नेपालगन्जदेखि काठमाडौँसम्म अधिकारकर्मीहरूले न्यायका लागि पैदल यात्रा गरेका थिए।

प्रहरीको भाषामा भारतमा मृत्यु भएको भनिएकी निर्मला संविधानसभा सदस्य तथा काँग्रेस बाँकेका नेता बादशाह कुर्मीबाट पिटिएको समाचार १३ वर्ष पहिले नै सार्वजनिक भएको थियो । सम्पत्ति हडप्न कै लागि सांसदले एकल महिलामाथि हातपात गरेको समाचार आएपछि केहि महिना त्यतिबेला अधिकारकर्मीहरुले आवाज पनि उठाएका थिए । न्यायका लागि आवाज उठेपछि केहि समय साथी संस्थाको आश्रयस्थलमा राखेर बादशाहले उनीबाट लिएको कागजपत्र अधिकारकर्मीको रोहबरमा फिर्ता गर्दै आगामी दिनमा उनीमाथि कुनै धरपकड नगर्ने सर्तमा निर्मलालाई घर पठाइएको थियो ।

प्रहरीकोमा मिलापत्र गरेको केहि दिन अघि मात्र दुई महिनाको अन्तरालमा निर्मलाका दुई छोराको ‘मृत्यु’ भएको थियो, त्यसको केही समयअघि मात्र उनका श्रीमानको पनि निधन भएको थियो । छोटो अवधिमा कालगतिले परिवारका तीन हट्टाकट्टा पुरुष सदस्यको मृत्यु हुनु र लगत्तै एकल महिला निर्मलालाई पनि तत्कालीन सांसदले पिटेको समाचार आएपछि निर्मला र बादशाहको सम्बन्धका विषयमा पनि तत्काल धेरै प्रश्नहरु उठेका थिए ।

परिवारका सदस्य गुमाए पनि निर्मलाको सम्पत्ति पर्याप्त थियो । सम्पत्ति संरक्षण गरिदिन भन्दै तत्कालीन सभासद बादशाहले लालपुर्जा लगिदिएको र फिर्ता माग्दा कुटेको समाचार आएको थियो । त्यतिनै बेला कर्मीले निर्मला एकल महिला भएको र उनीसँग धेरै जमिन रहेका कारण त्यसमाथि अरूको आँखा नलागोस् भनेर संरक्षण गर्न खोज्दा अधिकारकर्मीहरूले उल्टो हल्ला फिँजाएको सांसद कुर्मिले प्रतिक्रिया दिएका थिए ।

सांसदसँग मिलापत्र गरेर घर पुगेको केहि महिनामा नै निर्मला एक्कासी हराउनु र उनको जमिन विभिन्न व्यक्तिको नाममा सारिएको प्रमाण भेटिएको भन्दै रुबी खान नेतृत्वको अधिकारवादी संस्थाले निर्मलाको हत्या भएको बताउँदै आएको छ ।

निर्मला एकाएक हराएपछि रुबी खान संयोजक रहेको ‘राष्ट्रिय महिला अधिकार मञ्च’ ले खोजबिन शुरु गरेको थियो । तर कतै पत्तो नलागेपछि आफन्तको पहलमा मञ्चले गत मंसिर १६ मा प्रहरीलाई जाहेरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेपछि चैत २० मा सरकारी वकिल कार्यालय बाँकेमार्फत जिल्ला अदालतमा सोझै मुद्दा दायर गरिएको थियो ।

आफन्त र अधिकारकर्मीको आन्दोलन काठमाडौं पुगेपछि प्रहरीले निर्मलाको भारतमा बिहा भएको र उनको मृत्यु उतै भइसकेको दाबी गरेको थियो । निर्मला प्रकरण खोज्न भारत पुगेको बाँके प्रहरीले भारतीय प्रशासनमा रहेको मृत्यु दर्ता, बिबाह भएको भनिएका निर्मलाको श्रीमान र घटनास्थल भनिएको स्थानमा अनुसन्धान गर्दा निर्मलाको कालगतीबाटै मृत्यु भएको ठहर गरेको थियो ।

आन्दोलनरत रुबी सहितको समुहले निर्मलाको सबै जग्गा पहिला पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको बताएको छ । महिला अधिकार मञ्चका अनुसार निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको सोही संंस्था आवद्ध मोहम्मद शेर बागवान बताउँछन् ।

प्रहरीले भारतमा बिबाह गरेको भनिएका भारतीय पति अर्जुन कुर्मीले समेत निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको खुलासा गरेका थिए ।

‘तिमीहरूको जग्गा गडबड भएको छ, मिलाउन तिमीहरूलाई यहाँ राखेका हौं, २/३ महिनापछि सबै काम हुन्छ’ भन्दै २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भmुक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका थिए ।

आन्दोलनमा सहभागि राहुल शेषका अनुसार निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो ।

निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकबमोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा मन्त्री बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको छ ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको प्रहरीको भनाई छ ।

प्रहरीको भनाई मान्ने हो भने निर्मलासँग रहेको जग्गा जमिन कागजी रिट पुर्याएर हडप्ने काम पुरा गरेपछि साही समुहले निर्मलाको भारतमा बिबाह गरिदिएको पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । तर अपहरण गरेर शरिर बन्धक बनाईएको भनिएको रमेश थापाको प्लाई उद्योगमा भारतीय पति अर्जुन र निर्मलालाई नै बन्धक बनाईएको बयान अर्जुनले प्रहरीलाई दिएपछि भने जग्गा हडप्न ठुलै समुह सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : १९ बजे

कर्मचारीको आन्दोलनलाई बेवास्ता गर्दै नेपालगन्ज मेडिकल कलेजको फेरियो नाम

नेपालगन्ज । विगत २० दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरुको मागलाई बेवास्ता

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना, पर्यटकको औसत बसाइ तीन दिन बनाइने

बन्दीपुर । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको

पूर्वगृहमन्त्री खाँणद्वारा बुटवल मेला अवलोकन : कृषि उद्यमशिलता विकामा जोड

बुटवल । पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनको डोङग्वान लाओयु क्लबलाई

कास्की । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन