२३ भदौ २०८१, आइतबार | September 8, 2024

जसले छोरीको खेल हेर्न पाउनु भएन…



बझाङ । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन, बझाङकी सम्झना खड्काले । उनको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो ।

तर, जय पृथ्वी नगरपालिका-९ बझाङमा रहेका उनका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ थिए । खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहेका थिए । उनीहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो । अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो ।

तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन । बिहानको खाना खाएर बुवा आमा लेकतिर गए । सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाए । “दिनभर घरमा बसेर केही हुन्न । घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भने, “पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हे¥यौँ ।”

खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग छन । छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ । “घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ । पढाइ सकेर जागिर पनि खान थाली । बीचमै जागिर छोडेर खेलतिर लागि । त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन । आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ”, बुवा देवेन्द्रले भने ।

पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाएका थिए । उनले ४५ बलमा ११ चौकासहित ७२ रन बनाइन । सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बनेकी थिइन । त्यसपछि उनको चर्चा चुलियो । उनलाई नचिन्नेले चिन्ने अवसर पाए । उनलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो ।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थालेकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उनका दाजु नवीन खड्काले बताए । सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाएका थिए । खेलमैदान नहुँदा बन्द विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे ।

त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो । खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाएका थिए । बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उनीहरुको दैनिकी भएको प्रविन्द धामी सम्झन्छन । उनले भने, “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ । पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो ।”

त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उनको अनुभव छ । “बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,” धामीले भने, “त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रङगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आएर हाम्रो सपना पूरा भएको छ । त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन् ।”

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो । यसपटकको एसिया कपको दोस्रो खेल गरी उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १८ खेल खेलिसकिन ।

आइतबार भएको खेलमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहो(यो । नेपाललाई पाकिस्तानले नौ विकेटले हरायो । नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानसँगको खेलमा उत्कृष्टता देखाउन सकिनन । पाँच बल खेलेकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट भइन । मङ्गलबार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश ग(यो भने नेपाल हारसँगै प्रतियोगिताबाट बाहिरियो ।

क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाएनन । “घरको टिभिमा आउँदैन । मोबाइल छैन । अरुले भनेको आधारमा छोरीले खेल जितेको/हारेको थाहा पाउँछौँ ।” उनका बुवा देवेन्द्रले भने । छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उनको परिवार सन्तुष्ट छन ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ०१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर