२३ भदौ २०८१, आइतबार | September 8, 2024

अरुणको सम्झनामा जति माया लाए पनि…



गण्डकी । साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५ औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

दिवसका अवसरमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर विद्यार्थी सङ्घ, नेपाल मगर सांस्कृतिक सङ्घ र नेपाल मगर विद्यार्थी सङ्घ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रुपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् । भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उनीसँगका स्मृतिलाई कोट्याए । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाएको उनले सुनाए ।

उनीहरुबीच विसं २०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउथे । “गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो”, राजभण्डारीले भने, “भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।” राजभण्डारीले नेपाली सङ्गीत जगत्का अमर प्रतिभाका रुपमा उनलाई स्मरण गरे ।

अरुणका गीत युवा पुस्तामाँझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताए । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरु कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरु साँझ अबेरसम्म सङ्गीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो ।

प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि अरुणले गाएका ‘जति माया लाए पनि…’, ‘चोट के हो व्यथा के हो…’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरुमा तिमी…’ गायक श्रेष्ठले सुनाए । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई…’, ‘चोट के हो व्यथा के हो…’ लगायत गीत गाए ।

कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि…’ र सागर सुनारले ‘आँखाको निद…’ सुनाए । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी…’ र ‘अल्झेछ क्यारे पछ्यौरी…’ प्रस्तुत गरे । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिए । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाएका छन ।

गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका कार्यवहाक अध्यक्ष डम्मर बुढामगरले बताए । कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सदस्य सङ्गम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गरेका थिए । उनले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रुपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गरे ।

“सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उनले भने, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने बिडम्वनापूर्ण अवस्था छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो ।

नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । जन्म विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मिएका अरुणको विसं २०५६ साउन ५ गते काठमाडौंको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रुपमा अस्वस्थ भई उनले मुत्युवरण गर्नुपरेको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरु छोडेर गएका छन ।

अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराएका थिए । यही गीतबाट अरुणको साङ्गीतिक यात्रा सुरु भएको थियो । उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन ।

विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । नेपाल मगर विद्यार्थी सङ्घलगायतका सङ्घसंस्थाले बर्सेनि अरुण स्मृतिका दिवसका अवसरमा ‘अरुण स्मृति साँझ’को आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ०९ बजे

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल