काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुल १५ जना सवार यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । दुर्घटनामा परि चालकसहित ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी छन्।
यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनाबाट मृत्यु भएको छ । १ जनाको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानमा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ ।
पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया