काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म पनि सार्वजनिक सेवा प्रवाह गर्ने यी निकायबीचमा सहकार्य र समन्वय अतिआवश्यक हुन्छ भन्ने रही आएको बताइन्छ ।
चन्द्रागिरि नगरपालिका र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यही दुई नेतृत्वलाई समन्वयात्मक रूपमा कसरी अगाडि बढाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा नयाँ अभ्यासको थालनी गरेका छन् । आइतबार सार्वजनिक बिदाका दिन प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका उच्च नेतृत्व, नगरपालिकाका जननिर्वाचित नेतृत्व, प्रमुख कार्यकारी अधिकृत र विषयगत शाखा प्रमुख तथा वडासचिव सहभागी भई सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा खुलेर अन्तक्र्रिया गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, वडासचिव एवं विषयगत शाखाका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग कार्यस्थलमा आइपरेका कानुनी समस्यालाई निराकरणका उपाय सुझाउन खुलेर जिज्ञासा राखेका थिए भने प्रजिअले सहभागीले राखेका जिज्ञासालाई सटिक जवाफ दिएका थिए । अधिकांश वडाध्यक्षले नागरिकता सिफारिस र अन्य प्रमाणित गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठान गरेका थिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाले सार्वजानिक सेवालाई क्रमशः विद्युतीय प्रविधि (डिजिटलाइजेन)मा रुपान्तरण गर्दै जाने नीति लिएको जानकारी दिँदै यसले सेवा प्रभाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “नगर क्षेत्रमा नयाँ–नयाँ सुरक्षा चुनौती थपिएका छन् । यसलाई न्यूनीकरण गर्न सुरक्षा निकायसँग मिलेर काम भइराखेको छ । विपद् पूर्वतयारी सबै वडामा गरिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न राजमार्ग, सार्वजनिकस्थललगायत आवश्यक स्थानमा सिसी क्यामेरा जडानलाई उच्च प्राथमिकता दिइएको छ ।” प्रमुख गिरीले स्थानीय सरकार र स्थानीय प्रशासनबीचको मन्थनले समृद्ध चन्द्रागिरी बनाउने ध्येयलाई सहयोग पुग्ने र अगामी दिनमा सेवा प्रवाहमा थप प्रभावकारी आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीको एउटै लक्ष्य सेवाग्राहीलाई सेवा दिनु नै हो, यस काममा कर्मचारीले जनप्रतिनिधिलाई सहजीकरण गरिदिनुपर्ने बताइन् । नगरप्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले उमेर नपुगेका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नबाट बञ्चित हुनुपरेको र नक्कली विवाह गरेर विदेशिनेतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन र स्थानीय सरकारबीचको सहकार्य र समन्वयले सार्वजनिक सेवा प्रवाह थप चुस्त हुने र सङ्घीयतालाई बलियो बनाउन सहयोग पुग्ने बताए । उनले भने, “समाजमा आर्थिक र वित्तीय असहजताले अपराधका नयाँनयाँ स्वरुप उत्पन्न भइराखेको छ । यसलाई सम्बोधन गर्न स्थानीय प्रशासन र स्थानीय सरकार बीचमा समन्वय आवश्यक छ ।” प्रजिअ बस्नेतले वडाध्यक्षहरूले प्रमाणित र सिफारिस विषयमा ऐन, कानुन राम्ररी अध्ययन गर्न र ती विषयमा सचेतना अपनाइ गम्भीर बन्न आग्रह गरे ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउन, सुरक्षा समन्वय गर्न र अपराध नियन्त्रणमा स्थानीय सरकार र स्थानीय प्रशासनबीचको सहकार्य र समन्वय अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको जनाए । उनले भने, “उपत्यकाको प्रवेशद्वारका रूपमा रहेको चन्द्रागिरि नगरपालिका शान्ति, सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । यस कुरालाई ख्याल गरेर नगरपालिकाले सुरक्षा निकायसँग मिलेर काम गरिराखेको छ । नगरपालिकाले प्रदान गर्ने सेवालाई क्रमशः विद्युतीय प्रविधिमा रुपान्तरण गर्ने कामको थालनी भइरहेको छ । यसले सेवाग्राहीलाई थप सहजता ल्याउने छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा हुने यस्ता अन्तक्र्रियाले दैनिक आइपर्ने समस्यालाई हटाउन सहज हुने बताए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा नागरिकको हक–अधिकारलाई सुरक्षित गर्न सकिने बताए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाले आफ्ना सदस्यलाई ‘चेक’ काटेर दिने तर खातामा पैसा नहुने अर्थात् ‘चेक बाउन्स’ गर्नेमाथि कारबाही अगाडि बढाइदिन प्रजिअसँग आग्रह गरे ।
कार्यक्रममा चन्द्रागिरि–५,८,९, १०, ११, १३, १४, १५ का वडाध्यक्षहरु क्रमशः राजेन्द्र महर्जन, प्रल्हाद रिजाल, अच्युत अधिकारी, शिवकुमार महर्जन, नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, राजभाइ महर्जन र घनश्याम लुइँटेलले सिफारिस र प्रमाणितका विषयमा प्रजिअसँग जिज्ञासा राखेका थिए । उनीहरूले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय सार्वजानिक बिदाका दिन खुला गर्ने सरकारको नीतिलाई स्थानीय सरकारले साथ र सहयोग दिने जानकारी दिँदै सार्वजानिक सेवालाई जिल्ला प्रशासनले पनि प्रविधिमैत्री बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका, सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठ, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्याल र चन्द्रागिरि–२ का वडासचिव भवानी विष्टले नागरिकता सिफारिस, विपद् व्यवस्थापन तथा राष्ट्रिय परिचयपत्रका विषयमा प्रजिअसँग जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया