९ बैशाख २०८२, मंगलबार | April 22, 2025

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा



काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् ।
भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि साझेदारी गरेको रारा होल्डिङ प्रालिले शुक्रबार काठमाडौँमा मुगुका स्थानीयवासी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिसँग गरेको अन्तक्र्रियामा त्यहाँका बासिन्दा रारामा वैदेशिक लगानी भित्रिन लागेकोमा खुसी भएका हुन् ।
स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा नेपालमा जन्मेर लामो समय अष्ट्रेलियामा बस्दै आउनुभएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत लगानी भित्र्याएका थिए । तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र सचिव दीपक काफ्लेको उपस्थितिमा रारा रिसोर्टमा लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल रारा रिसोर्टले मुगुमात्र नभई समग्र कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “उक्त रिसोर्टलाई समयमा नै सम्पन्न गर्नका लागि स्थानीयवासीलाई समेटेर अगाडि बढ्न जरुरी छ”, उनी भन्छन्। रारा क्षेत्रमा राष्ट्रिय निकुञ्जसमेत रहेकाले राष्ट्रिय निकुञ्जभित्रको ऐन, कानुनलाई समेत समावेश गरेर अगाडि बढ्नुपर्ने उनले सुझाव दिए।
नेकपा (एमाले) मुगुका पूर्वजिल्ला अध्यक्ष डम्बरबहादुर रावल मुगुको पर्यटन क्षेत्रको विकासका लागि विदेशी लगानी भित्रिन लागेकोमा खुसी व्यक्त गर्छन् । “मुगुको विकासका लागि रारा रिसोर्ट निर्माण हुन लागेको छ भन्ने आम मुगुपासीलाई अनुभूति दिलाउन जरुरी छ”, उनी भन्छन्।
नेपाली कांग्रेस मुगुका नेता खगेन्द्र मल्ल मुगुमा नयाँ रिसोर्ट बन्दै गर्दा यहाँ काम गर्ने कामदारदेखि निर्माण सम्पन्न भएपछि रिसोर्टमा काम गर्ने जनशक्तिमा मुगुलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। “विकासमा राजनीति गर्न हुँदैन, यहाँ पर्ने अप्ठेरालाई सहजीकरण गर्न स्थानीय क्षेत्रका बासिन्दा भएकाले हामी सहयोग गछौँ”, उनी भन्छन् ।
मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्यान्पे लामा रारा क्षेत्रमा आएका पर्यटकलाई छाँयानाथसम्म लैजान सके मुगु जिल्लाको पर्यटन क्षेत्रले गति लिने बताउँछन् । रिसोर्ट निर्माणमा स्थानीय बासिन्दालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
रारामा रिसोर्ट निर्माण गर्न लागेको नेपाली कम्पनी रारा होल्डिङस् प्रालिका सञ्चालक अभिषेक विक्रम शाह रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताउँछन्।
“म कर्णाली क्षेत्रकै बासिन्दा हुँ, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि मैले केही गर्नुपर्छ भनेर उक्त परियोजना अगाडि सारेको हुँ, यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उनी भन्छन्।
मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड लगानी हुने बताइएको छ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने शाह बताउँछन् ।
समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । “यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्, मुगुवासी सबैसँगको छलफल र सहकार्यमा यस परियोजनालाई आगामी १८ देखि २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ”, शाह भन्छन् ।
आयोजनामा दोस्रो चरणमा रु ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत्का क्षेत्रमा लगानी गर्दै आएको छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ०१ बजे

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आईपीएल : कोलकाताविरुद्ध गुजरातको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट