नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार रातीदेखि सिल गरिएको छ ।
आगामी बैशाख ३१ गते भारत उत्तर प्रदेशमा लोकसभा निर्वाचन रहेकाले भारतीय पक्षको अनुरोधमा नेपाल–भारतको जमुनाह नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बिहीबार राती १० बजेबाट बन्द गरिएको नाका आगामी बैशाख ३१ गते राती १२ बजेसम्म कायम रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले सूचना प्रकाशित गरेर जानकारी दिएका छन् ।
‘छिमेकी राष्ट्र भारत स्थित उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा वि.सं. २०८१ वैशाख ३१ गते (तदनुसार 13 May 2024) का दिन हुन गइरहेको लोकसभा निर्वाचन-२०२४ लाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यही मिति २०८१।०१।२८ (तदनुसार 10 May 2024) गते राति १०:०० बजेदेखि मिति २०८१।०१।३१ (तदनुसार 13 May 2024) गते राति १२:०० बजेसम्म जिल्ला स्थित नेपाल-भारत सीमा-गाजाहरू बन्द (सिल) रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ जिल्ला प्रशासन कार्यालय बाँकेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि भारतको लोकसभा निर्वाचनलाई लिएर नेपाल तथा भारतका सीमा स्थित सुरक्षा तथा प्रशासन प्रमुखहरूको बैठकले नाका सिल गर्ने निर्णय गरेको थियो ।
यस अघि पनि नेपाल–भारत दुवै तर्फ निर्वाचनका बेला सीमा सिल गर्ने, गस्ती तथा निगरानी बढाउने गरिएको छ ।
प्रतिक्रिया