२३ भदौ २०८१, आइतबार | September 8, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बुटवललाई स्वास्थ्यको हब बनाउने योजना



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले आइतबार स्थलगत निरीक्षण गरेका छन् । अस्पतालमा निर्माण गर्ने भनिएको १२ तले अत्याधुनिक भवन निमार्णका लागि पुराना संरचना हटाएर जग खन्ने तयारी भैरहेको छ ।

अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका लागि आफ्नो पहल रहने उल्लेख गरे । बुटवललाई स्वास्थ्यको हबको रुपमा बिकास गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै पुनले सोही योजना अनुसार नै लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रुपमा स्तरोन्नतीका लागि संरचना निर्माणको काम सुरु भएको उल्लेख गरे ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाब माग गरेपछि सम्बोधन गर्दै मन्त्री पुनले सेवाग्राहीको चाप, जनशक्ति व्यवस्थापन र उपकरण लगायतमा तालमेल नभएको विषयमा मन्त्रालयले छलफल अघि बढाउने प्रतिवद्धता गरे । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोगको प्रतिवद्धता गरे ।

स्वास्थ्य मन्त्री पुनले चिकित्सा तथा स्वास्थ्य पेसा मर्यादित पेसा भएका कारण यसको साखलाई कायम राख्न मन्त्रालय तयार रहेको बताए । यसैगरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा निगरानी तथा कारबाहीको चेतावनी समेत दिए ।

अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक बिकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागिता रहेको थियो । अस्पतालमा मुख्यमन्त्री पुनलाई माला लगाएर स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयले सहयोगको अपेक्षा गरे । जनशक्ति, उपकरण तथा स्रोत साधनको तुलनामा ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनु पर्ने बाध्यता रहेको डा. थापाले गुनासो गरे ।

अस्पतालमा विगत केही महिनादेखि ल्याप्रोस्कोपी मेशिन बिग्रीएको अवस्थामा भएपनि बजेट अभावले बनाउन नसकिएको उनले गुनासो गरे । उपकरण अभावमा सेवा प्रवाह पनि ढिलो हुने भएकाले बिरामीले अपरेशनका लागि समेत एक डेढ वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्री पुनःसँग आग्रह गरे । ‘हामीले राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि उपकरण अभावले समस्या छ । बिग्रीएको एउटा ल्याप्रोस्कोपी मेशिन पनि बनाउन सकिएको छैन । अझै ४ वटा मेशिन थप गर्ने हो भने पनि सेवाग्राहीले १ वर्ष पालो कुर्नुुपर्ने समस्या एक चौथाईमा घट्ने छ ।’-मेसु डा. थापाले भने । यसैगरी संघीय सरकारबाट बीमा रकम समयमा भुक्तानी नहुँदा थप आर्थिक भारमा परेको उनले गुनासो गरे । ‘गत भदौंदेखि करिब १५/१६ करोड पाउन बाँकी नै छ । यसले गर्दा सेवा खस्किने हो कि भन्ने डर हामीलाई लागेको छ ।’-डा. थापाले भने, ‘अब अर्को भदौं पनि आउन लाग्यो यसका लागि सरकारको ध्यानाकर्षण होस् ।’

यसैगरी अस्पतालका व्यवसायीक सटर भत्काएपछि प्रदेश सरकारले वार्षिक ६ करोड अनुदान दिने भने पनि कार्यन्वयन नभएको गुनासो गरे । सुरुका २ वर्षसम्म अस्पताललाई रकम आएको भएपनि त्यसपछि सटर भत्काए बापत आउनु पर्नेमा रोकिएको डा. थापाले गुनसो गरे ।

मन्त्री पुनको निरीक्षणपछि आयोजित अन्तरक्रियामा अस्पतालकी वरिष्ठ दाँत रोग विशेषज्ञ डा. वर्षा थापा, नर्सिङ प्रमुख ज्योती पौडेल, ओटी पोष्टअप इन्चार्ज सीता खनाल, डट्स ईन्चार्ज बिनोद पाण्डे लगायते गुनासो तथा सुझाब प्रस्तुत गरेका थिए । कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : ४३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर