२७ पुस २०८१, शनिबार | January 12, 2025

कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता



नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ ।

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाह बताउँछन् । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उनले भने, “अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरूह बन्दै गएको छ ।”

कारागाराका कैदीबन्दीका लागि सरकारले प्रतिदिन जनही नगद रु ८० र २०० ग्राम चामल दिने गरेको छ । दाल, तरकारी, नून, तेल रु ८० वाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ । यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर कपडा र दुई–दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ ।

तीन सय क्षमताको कारागारमा हाल नौ सय छ जना कैदीबन्दी छन् । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको कारागारको भौतिक अवस्था पनि जीर्ण भइसकेको छ ।

“नौवस्ताको क्षेत्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्न सम्बद्ध निकायसँग माग गरेका छौँ”, जेलर शाहले भने, “सो कारागारको भौतिक पूर्वाधार निर्माण सकिए पनि सञ्चालन प्रक्रिया सुरु नभएकाले कैदीबन्दीलाई सार्न ढिलाइ भइरहेको छ ।”

बाँके जिल्ला कारागारमा खचाखच गरी राखिएका कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेट अपुग भएको उनको भनाइ छ । “उपचार खर्च अपुग भएपछि केन्द्रीय कारागार विभागसँग थप रकम माग गर्दै आएका छौँ”, जेलर शाहले भने ।

कैदीबन्दीको उपचार नेपालगन्जको भेरी अस्पतालमा हुने गरेको छ । तर कुनै कैदीबन्दीले आफ्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहाँसमेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउँछन् ।

कारागार प्रशासनले कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा दुई वर्षअघि भएको कैदीबन्दीको आन्दोलनमा प्रहरीले कारबाही गर्दा दुई कैदीबन्दीको ज्यान गएको थियो । रासस

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : २४ बजे

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको

अपडेट : मनहरी दुर्घटनामा थप एकको मृत्यु

  हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा

भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय