१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

अनि फेरियो साँखगाउँको मुहार



रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ । मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ ।

विकासक्रमसँगै पछिल्लो समयम गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरु निर्माण पनि भइरहेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरु र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ । यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ । मेलामा पालोअनुसार नाट्य रुपमा एक साल माथि गाउँबाट र अर्को साल तलिगाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ । अनि पापिनी मेला सम्पन्न हुन्छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पु-याएको छ ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरु साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन् । साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन् । यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ । यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रुपमामा पनि सहज बनाएको छ । केही दशकदेखि पहिले दुर्गमको महसुुुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ ।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौं पुग्न सकिने स्थानीय विकास पाण्डेले बताए । राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौं जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुुङ–पोखरा हुँदै काठमाडौं एक दिनमा पुग्ने गरेको उनले सुनाए ।

मध्यपहाडी सञ्चानलन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौं जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन् । सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छभने विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन्भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन् ।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थायीय ८० वर्र्षीय पूर्णबहादुर बुढा अचम्म पुरेका छन् । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ । “विंस २०६२÷६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो । अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ । यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,” बुढाले भने । पहिले दाङ नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उनले सुनाए ।

“पहिले मीठो खान दसँैतिहार पर्खिनुपथ्र्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपथ्र्यो,” स्थानीय ६५ वर्षीय मनकला थापाले भने । पछिल्लो समयको विकास देखेर भने उहाँ पनि खुसी हुन्हुन्छ । आफ्नो पालामा भोग्नुपरेका समस्याका बारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिर्वतन ल्याएको थापा बताउँछन्।

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ । प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुप¥यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ । गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन् ।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले हिसाबले साँखगाउँ अगाडि बढेको छ । विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहुँचमा रहको छ । गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उहाँको भनाइ थियो । साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताउनुभयो । बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पु¥याएको छ ।

यहाँका स्थानीयहरु गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिर्वतन गर्न ठूलो भूमिका खेलेको छ । राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए । साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उनले बताए। “साँखगाउँलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ । यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने हाम्रो योजना छ”, उनले भने ।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ । “पर्यटन प्रवद्र्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौं र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरमा जोडछौँ,” वडाध्यक्ष पाण्डेले भने। दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ । गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत रु ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : २८ बजे

इङ्ल्याण्ड विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले

कुश्मिसेरा-राङ्खानी सडक निर्माणमा चरम लापरवाही

बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी

सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

त्रिशूली । लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, पिक समयमै २५३ मेगावाट भारत निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च