२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

विधिपूर्वक गरियो म्हः (आत्म) पूजा, के हो म्हः पूजा ? कसरी गरिन्छ पूजा ?



काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । यो वर्ष नेपाल संवत्को पहिलो दिन गर्ने गरिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो । यसैगरी एकथरी नेवार समुदायले आज म्हः (आत्म) पूजा गरेका हुन् ।

अधिकांशले आज म्हस् (आत्म) पूजा गरेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज नै म्हस् (आत्म) पूजा गर्नुपर्ने उल्लेख गरेको छ ।

के हो म्हः पूजा ? कसरी गरिन्छ पूजा ?
म्हः पूजा चन्द्रमानक नेपाल संवत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हः पूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ ।

पूजाको अर्थ र महत्त्व :

यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको धार्मिक विश्वास छ ।

पूजा विधिः

यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुँईमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

पसजाका लागि परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्नु पर्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पुजा गर्दछन् । तत् पश्चात् सबैलाई ुधौ सगँु दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले सजाइएको विमीरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुँईमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्हः पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पुजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

मण्डलको भावार्थ : अष्टमङ्गाकिंत अष्टदल पद्माकार मण्डल

मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पुजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ । म्हः पुजा मण्डलले म्हः (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ । मण्डलको बिविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुंगाको धुलोको प्रयोगः म्ह पुजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलाई सीधै हातमा लिई मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पुजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । आफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलाई तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल आफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै आफूको रूपमा मानिएको मनको भावना, आफ्नो भौतिक रूप तथा चेतसिक दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने यथार्थ दर्शनलाई बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो । आजभोली धातुको मण्डल वनाई त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्हः पुजा गर्न थालेको पाइन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ४७ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट