३ मंसिर २०८१, सोमबार | November 19, 2024

मर्दी पदयात्रामा पर्यटकको घुइँचो



कास्की । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् ।

मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत अधिकांशको रोजाइमा पर्ने गरेको छ ।

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लाभिने गरेका छन् । कुमारी माछापुच्छे« हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए । उनकाअनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरुको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ ।

“कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ । दसैँको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ”, तामाङले भने ।

मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्नसक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ ।

दुईदिनअघि मर्दीको पदयात्रा गगरेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उनले सुनाए ।

बरालले भने, “मर्दी ट्रेकिङ नेपालीहरुको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।”

‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर (एमविसी) पुगिन्छ ।

‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक÷दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ५ : ३० बजे

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको

Former Speaker Dhungana cremated with state honours

Kathmandu: Former Speaker Damannath Dhungana was cremated with state honours

गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि क्षमता विकास तालिम

बर्दिया । बर्दियाको गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’