२२ पुस २०८१, सोमबार | January 7, 2025

२१ वर्षको अनुभवले खारिएका दिनेशको जेठो उद्योग वाणिज्य संघमा नेतृत्व गर्ने आकाँक्षा

'मुसुक्क हाँसेर बोल्नु, सबैसँग सजिलो व्यवहार गर्नु र ठालु नपल्टनु' दिनेशको स्वभाव



बुटवल । २०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्रेष्ठको २०२८ सालमा मिसन अस्पतालमा आमा गंगालक्ष्मी श्रेष्ठको कोखबाट जन्म भएको थियो । पाल्पामा नै कपडाको व्यापार गर्ने उनका बुवा उनी जन्मेको २ वर्ष नपुग्दै कपडाको व्यापार छाडेर बस मालिक बन्दै बुटवल झरे । दिनेश पनि बामे सर्दै बुवासँगै बुटवल झरे । पुरानो बुटवलमा उनीहरुको बसोबास भयो । बुवाले बस किने र संगम बस सेवाको नामबाट बस चलाए ।

कुनैबेला बसको कण्डक्टर बनेर हिँडेका केटा नेपालकै जेठो उद्योग वाणिज्य संघको नेतृत्व गर्न तम्सेलान् भनेर सायद कसैले कल्पना नगर्न पनि सक्छन् । सरकारी स्कुलमा पढेर शिक्षा हासिल गरेका युवा सफल व्यावसायी बन्न सक्लान भनेर पनि नयाँ पुस्ताले नपत्याउन सक्छन् । तर बुटवलमा कुनै बेला बसको कण्डक्टर बनेर हिँडेका र बुटवलकै व्यावसायीको सामाजिक लगानीबाट खुलेको सरकारी स्कुलमा पढेका साधारण घरका युवा सफल व्यावसायी मात्र बनेका छैनन् २१ वर्षको व्यावसायिक नेतृत्वको अनुभव संगाल्दै देशकै जेठो उद्योग वाणिज्य संघको नेतृत्व गर्न तम्सेका छन् । २१ वर्ष देखि बुटवल उद्योग वाणिज्य संघको विभिन्न पदमा बसेर अनुभव संगाल्दै नेतृत्वका लागि तम्सेका व्यावसायी हुन् दिनेश प्रसाद श्रेष्ठ ।

दिनेशले बुटवलको सरस्वती प्राविमा १, २ र ३ कक्षा पढे । बुटवलकै व्यापारीहरुले २०१० देखि नै लगानी गरेर चलाउँदै आएको बुटवल माविमा कक्षा ४ देखि १० सम्म अध्ययन गरे । २०४३ सालमा एसएलसी उत्तिर्ण भएपछि उनी बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकायमा भर्ना भए । जातैले पाएको व्यापार गर्ने मतीका कारण उनलाई बिज्ञान विषय मन परेन । आएससीको पढाई बिचमै छाडेर उनी लुम्बिनी वाणिज्य क्याम्पसमा आईकम पढ्न सुरु गरे । लुम्बिनी वाणिज्यबाट स्नातक गरेपछि भने उनको यात्रा व्यावसाय क्षेत्रमा सुरु भयो । २०४३ को माघमा एसएलसी दिएपछि रिजल्ट नआउँदा सम्म उनी बसको कण्डक्टर भएर हिँडे । आफ्नै बुवाको बसमा कण्डक्टर हुँदा हुँदै उनले गाडी चलाउन पनि सिके । दिनेशका बुवा पुराना यातायात ब्यवसायीसँगै राप्ती अञ्चल यातायात व्यावसायी संघका संस्थापक कोषाध्यक्ष हुन् ।

नेवार परिवारको परम्परा सम्हाल्दै उनले पढाईसँगै बुटवलको राममन्दिर लाईनमा २०४५ सालमा फेन्सी पसल राखेर व्यावसायिक यात्रा सुरु गरे । फेन्सी पसलले दिनेशलाई खासै सफलता दिन सकेन । ‘आफुले नजानेर हो वा नफापेको फेन्सीबाट खासै नाफा देखिएन ।’ दिनेशले स्मरण गर्छन् ।

फेन्सीको असफलताकैबीच उनको विवाह भयो । उनले बुटवल माबीका अत्यन्त लोकप्रिय हेडमास्टर सुृर्यमान श्रेष्ठको छोरीसँग प्रेम बिबाह गरे । विवाह भएलगत्तै उनले व्यावसाय परिवर्तन गर्दै फेन्सी पसल छाडेर किराना पसलबाट व्यावसायिक यात्रा सुरु गरे । अमरपथको हिराप्रसाद श्रेष्ठको घरमा उनले किरानाको होलसेल पसल खोले । बुटवलमा त्यतीबेला किरानाको पसल उधुम चल्यो । उनको पसल चलेको देखेर उत्पादकहरु उनलाई डिलर दिन निकै लालायित हुन थाले । उनले पसल सँगसँगै योयो चाउमिनको फ्याक्ट्री पनि खोले । २०५८ साल सम्म पुग्दा उनी केही कम्पनीका अधिकृत बिक्रेता बनिसकेका थिए । त्यतिबेला खुब चल्ने रुची चाउचाउको डिलरबाट उनको डिष्ट्रिब्युटरको यात्रा पनि थपियो । २०५९ सालदेखि उनको बिजनेशमा लिकर्स व्यवसाय पनि थपियो र उनी मदिराको डिस्ट्रिब्युटरको काम सुरु गरे । अहिले पनि उनी मदिरा व्यावसायी सहित त्यससँग सम्बन्धित केन्द्रीय संस्थाको सल्लाहकार रहेका छन् ।

व्यापार संगसंगै २०५९ सालदेखि उनको व्यावसायिक नेतृत्वको यात्रा पनि सुरु भयो । २०५९ सालमा दिनेश कार्यसमिति सदस्य पदमा बुटवल उद्योग वाणिज्य संघमा प्रवेश गरे । २०५९ देखि ६८ कार्यसमिति सदस्य ४ कार्यकाल, २०६८ देखि ७१ सम्म सचिव, २०७१ देखि २०७४ सम्म कोषाध्यक्ष, २०७४ देखि ७७ महासचिव, ७७ देखि ८० सम्म वरिष्ठ उपाध्यक्ष बनेर २१ वर्ष अनवरत संघ मार्फत उद्योगी व्यवसायीको दिनेशले सेवा गरे । मुसुक्क हाँसेर बोल्ने, सबैसँग सजिलो व्यवहार गर्ने र ठालु नपल्टने दिनेशको सरल स्वभावका कारण उनी अहिले सम्म चुनाव हारेका छैनन् । सजिलै घुलमिल हुन सक्ने दिनेशको खुबीको सबैले प्रशंसा गर्ने गर्दछन् ।

सामाजिक क्षेत्रमा दिनेश

१० कक्षामा पढ्दा पढ्दै दिनेश जुनियर रेडक्रस सर्कलबाट जापान गए, १ महिना जापानको भ्रमण गरे । त्यतिबेला कुनै बहानामा जापान जस्ता देश छिर्ने र भागेर काम खोज्ने चलन भएपनि दिनेशलाई त्यो लालचले छोएन । उनी फर्केर आए र व्यापार सहित सामाजिक दायित्व पनि निभाउँदै गए । उनी १९९७/९८ सालमा लियो क्लब अफ बुटवलको अध्यक्ष भए । उनले आफ्नो नेतृत्वको विकास गर्दै २००५ मा बुटवल जेसिजको अध्यक्ष बने । सन २०१७/१८ मा बुटवल लायन्स क्लबको अध्यक्ष हुँदै लायन्स ३२५ पी नेपालको कोषाध्यक्ष सम्म पुगेर उनले सेवा गर्ने काम गरे ।

अध्यक्षको उम्मेदवारी किन ?

उनको सरल मिजासका कारण संघको कार्यसमितिमा प्रवेश गरेदेखि नै उनी हारेका छैनन् । कार्यसमितिको सबै पदको जिम्मेवारी निभाइसकेपछि अब अध्यक्षको अधिकार आफ्नै भएको दिनेश बताउँछन् । संघको नेतृत्व चलाउने अनुभवका हिसाबले र सानो व्यापारबाट सुरु गरेर व्यापारीको समस्या नजिकबाट अनुभुति गरेकाले पनि आफु अध्यक्षका लागि सक्षम उम्मेदवार बन्न सक्ने दिनेशको दाबी छ ।

उनले बुटवलमा घर बहालको कुरा, भन्सारको कुराहरु, अन्डर बिलिङ, पार्किङ, करको झन्झट, बैंकको अव्यावहारिक निती जस्ता मुद्दाहरुलाई मुख्य मुद्दाका रुपमा रहेको बताउँछन् । ‘स्थानीयतहसँग घरबहाल कानुन छैन, घरधनीले तिर्नु पर्ने बहालकर जबर्जस्ती व्यावसायीबाट असुलिन्छ,’ उनी भन्छन्, ‘कर प्रणाली पनि अवैज्ञानिक छ, सरकार व्यावसायीलाई दुहुनो गाई मात्र सम्झन्छ ।’

श्रेष्ठको भनाईमा व्यावसायीको समस्यासँग जुध्न सशक्त र एकताबद्ध टिम आवश्यक पर्दछ । अधुरो र अपुरो सहित सन्तुलन नमिलेको टिमले व्यावसायीको नेतृत्व गर्न नसक्ने उनको ठहर छ ।

दिनेशको एजेण्डामा बुटवलको विकास गर्न पर्यटन प्रमुख आधार भएको उल्लेख छ । जबसम्म पर्यटक भित्राउन सकिन्न तबसम्म बुटवलको विकास सम्भव नहुने उनी बताउँछन् । तराई र पहाडको संगम स्थल बुटवलसँग सितल पनि छ, गर्मी पनि रहेको भन्दै भारतका पर्यटकहरुलाई भित्राउन सकेमात्र बुटवलको विकास गर्न सकिने उनको भनाई छ । बुटवलमा रात्रीकालिन बजार स्थापना, सबैतिरबाट बुटवल आउने सहज बाटोघाटो, बुटवलमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने उद्योगको स्थापना, बुटवलको व्यापारीको सिधै हिमालय पारीको व्यापारमा पहुँच हुन सकेमात्र बुटवललाई गुल्जार बनाउन सकिने दिनेशको ठहर छ ।

बुटवलको बजारले काठमाडौंसँग प्रतिस्पर्धा गर्न बुटवलमा उद्योग स्थापना र सिधै तेस्रो मुलुकबाट आयातको क्षमता बढाउन जरुरी रहेको दिनेशले बताउँछन् । काठमाडौंकै मुल्यमा आयातित विदेशी सामान तथा वीरगन्ज र विराटनगरकै मुल्यमा किराना तथा बिसातखानाका सामान बुटवलमा उपलब्ध हुन सके आधा नेपालको व्यापार पुनः बुटवलले धान्न सक्ने दिनेशको सपना रहेको छ ।

‘ईतिहासमा मुस्लिम र मधेशी समुदायले ल्याएको नुन बोकेर बुटवल बन्यो, थकालीले पकाएका खाना खाएर बुटवलको आकर्षण बढ्यो र नेवार समुदायले व्यापारको संस्कार बसाल्यो, मगर गुरुङको सँस्कृतिले पहिचानको झल्को दियो ।’ उनी भन्छन्, ‘ती सबैलाई कदर गर्नुपर्छ तर बुटवल सबै भाषा, धर्म, जाती र समुदायको साझा संगम स्थल पनि बनाउनु पर्छ ।’

बुटवलको इतिहासमा उद्योग वाणिज्य संघ जन्माउने केही पूर्व अध्यक्षहरुको निधन भएपनि बाँचेका सबै पूर्व अध्यक्षहरु दिनेशकै पक्षमा खुलेका छन् ।

दिनेश भन्छन बजारमा केही हल्लाहरु आएका छन् । मैले गरेको क्रियाकलापप्रति उहाँहरुको मलाई पूर्ण समर्थन छ । अहिलेसम्मकै जेष्ठ पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीले समेत खुट्टाले हिड्न नसक्दा पनि मलाई भेटेर आशिर्वाद दिनआउनुभयो त्यसले मलाई थप हौसला प्रदान गरेको छ ।

हरेक दिन दिनेश प्यानलको घरदैलोमा सबै पूर्व अध्यक्षहरुको उपस्थितीले पनि आफ्नो जित सुनिश्चित भएको दिनेशको दाबी छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ५४ बजे

‘नागरिकका गुनासोप्रति निरपेक्ष रहन मिल्दैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकका गुनासाप्रति संसदीय समिति निरपेक्ष

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको