१२ पुस २०८१, शुक्रबार | December 27, 2024

बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिंदै, ४० लाखको जीपलाइन सञ्चालन



बुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ ।

एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवा युवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ ।

बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पालपाको तिनाउ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताए । केबलकार चढ्न आउने पर्यटक मध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाले बताए । जीपलाइनमा ६ जनाले रोजगारी पाएका कम्पनीले जनाएको छ ।

केबलकारमा आउने आन्तरिक र विदेशी पर्यटकको मनोरन्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु बनाउने प्रकृयामा रहेको इन्जिनियर चौरसियाले बताए । आगामी दुई महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उनले बताए ।

जीप लाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र ब्यापारमा केही मात्रामा सुधार भएको बताएका छन् ।

साढे ३ महिनामा ७४ हजार जना चढे केबलकार

केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेका छन् ।

जीपलाइन संगै स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान पनि तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाईको गन्तब्य बन्ने कम्पनीको विश्वास छ । समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण बनेका छन् । कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ । कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको ब्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताए ।

टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने योजना छ ।

केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिंदै आएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनी प्रदेशकै पहिलो केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । केबलकारले अधिकांश स्थानीय सहित हाल करिब सय जनालाई रोजगारी दिएको छ भने पांचतारे होटेल सञ्चालनमा आउंदा पांच सय बढीले रोजगारी पाउनेछन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २६ बजे

तिलावे पुल मर्मतसम्भारको माग

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक

ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत

स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार