१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

बुटवलमा असोज महिना भित्रै आधुनिक पशु बधशाला सञ्चालन आउँदै



बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक रु ५८ लाख ३८ हजार सात सय १० बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए ।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिकरूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन, २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलले खसी–बोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासुमात्रै बिक्री गर्न पाउने छन् ।

बधशाला सञ्चालनमा आएपछि बुटवलवासीले स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बधशाला सञ्चालनपछि बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए ।

बुटवल उपमहानगरपालिकाको नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, २०७९ पारित भइसकेको छ । ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

बधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्षरूपमा जोड्ने नमूना परियोजनाको रूपमा २०७७ असार ३१ गतेबाट बुटवल उपमहानगरपालिकाले निर्माणकार्य अघि बढाएको हो । यो परियोजना सार्वजनिक–निजी–उत्पादक साझेदारीलाई एकैठाउँ जोडेर निर्माण गरिएकाले पनि यसले गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासलाई महत्व दिइएको बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी बताए ।

परियोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानी र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा निर्माण सुरु भएको हो । करिब रु २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसी–बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचारकक्ष, बधशालामा खटिनेका लागि प्राथमिक उपचारकक्ष, सुरक्षाकक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।

बधशाला पूर्णरूपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार खसीबोका खपत हुने क्षमताको रहने छ । यस्तै यसमा हरेक दिन दुई सय ५० खसीबोका चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन दुई दशमलव पाँच मेट्रिक टन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।

यहाँबाट निस्किने फोहर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालालाई छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले बधशाला सञ्चालन गर्ने मुक्तिनाथ लाइभस्टक बैंकका सञ्चालक तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ३६ बजे

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि मुख्यमन्त्री आचार्यको संघ सरकारसँग ३ माग

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत, एजेण्डा अर्को बैठकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई

मेडिकल व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा

२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक, चितवन मेडिकल कलेजको ५ सय शय्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका