१० पुस २०८१, बुधबार | December 25, 2024

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा



बेनी । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पसेका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ पुगे । बाग्लुङको विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर भएका उनी २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिए ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने । श्रेष्ठ दम्पत्तिकै सहयोगमा उनले बेनीमा आफ्नो व्यवसाय सुरु गरे ।  डल्फिनकी  सञ्चालक नानुकुमारीका हातबाट उनले रेष्टुराँ शुभारम्भ गराए।

नानुलाई उनी ‘मम्मी’ सम्बोधन गर्छन् किनकी जन्म नदिए पनि उनले कर्म दिइन्। त्यसैले त आमाको मुख हेर्ने दिन राजन उनलाई कोसेली अर्पण गर्छन्।

“होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ”, लामाले सम्झे, “भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ ।” विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उनले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गरे ।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किनेका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गरेका छन् । सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उनी श्रीमती र भाइसहित १८ जना रोजगार छन् । घरभाडामा मात्र रु एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा रु पाँच करोडभन्दा बढीको लगानी छ । रु छ लाख लगानीमा व्यवसाय सुरु भएको थियो ।

“घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ”, उद्यमी लामा भन्छन् “केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।”

होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गरेका उनले स्नातक तहसम्मको शिक्षा हासिल गरे । उनले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइदिएका छन् ।

“स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो”, उनले भने, “त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।” बिहान ६ः०० नबज्दै उठ्ने उहाँ राति सुत्ने बेलामा १२ः०० बज्छ ।

नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उहाँ आफैँ सक्रिय छन् । उनलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउँछन् । “साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ”, उनले भने, “मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।”

मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाए । मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता रहेकोब बताइएको छ ।

लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गरेका छन् । धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाउनुभएका उनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारीमा छन् ।

“मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो”, उनले भने, “बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।” लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ । रासस

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ९ : ३४ बजे

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम । लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का

चितवनमा भोलिदेखि ‘मह उत्सव’

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान