काठमाडौं । राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिको विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।
सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको अस्वस्थता र प्रधानमन्त्री र सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक बस्न नसकेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठक बस्दै नबसी स्थगित भएको बताउँदै सञ्चारकर्मीहरुलाई शीर्ष नेताको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु भएको बताए । उनले सम्भवतः रास्वपा अर्को बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।
संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
प्रतिक्रिया