काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार बेलुका निधन भएको हो ।
उनी बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका बन्द भएको र भाइ भित्र रहेको भन्दै तामाङकी दिदी भगवती तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुगी ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।
रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । सिंगापुरमा जन्मिएका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।
उनले गाएका चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु हिट् छन् । छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि उनले अभिनय गरेका छन् ।
प्रतिक्रिया