बुटवल । बजारमा सडेगलेको अखाद्य खाद्यसामाग्री बेच्ने पसलहरुको बचाउमा रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले लबिङ सुरु गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै संघले आफुलाई बदमासी गर्ने व्यवसायीको पक्षमा उभ्याएको हो ।
असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा फेला परेको सडेको खाद्य सामाग्रीको बचाउ गर्दै संघले सडेको खाद्य वस्तुलाई कुनै निकायबाट प्रमाणीत नगरि बदनाम गराइएको टिप्पणी गरेको छ । बुटवल उपमहानगरपालिका सहितको अनुगमन टोलीले अनुगमन गर्दा अखाद्य बस्तु फेला परेको विषयमा संघले पत्रकार सम्मेलन गर्दै व्यवसायी तर्साउने काम भएको बताएको छ ।
अखाद्य वस्तु जफल गरी नष्ट गरिएकोप्रति ध्यानाकर्षण गराउँदै संघले विहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको बताउँदै उंघले अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको बताए । मुचुल्का उठाएर सडेको सामाग्री नष्ट गरिएको खाद्य सामाग्रीको अखाद्य रहेको पुष्टि अनुगमन समितिले नगरेको उनले बताए । अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम नगर्न उपमहानगरपालिकालाई चेतावनी दिए ।
मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोलीसंग कुनै पनि उपकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए । उनले ल्याव टेष्ट विनानै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट व्यवसायलाई ठूलो आर्थिक क्षती पुगेको गुनासो गरे ।
रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले लगाएको आरोपको खण्डन गर्दै बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले भने सबै प्रक्रिया पूरा गरेर अखाद्य सामाग्री नष्ट गरिएको दाबी गरेका छन् । उनले बरामद गरिएको सामग्रीमा नाङ्गो आखाले देख्न सकिने गरी नै ढुसी लागेको जनाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी, उपभोक्ता हित संरक्षण मञ्च बुटवल तथा स्वयम् डेरी व्यवसायीका प्रतिनिधि समेत उक्त अनगमनमा सहभागी भएको बताए । नाङ्गो आँखाले हेर्दा नै ढुसी लागेको अवस्था र दुर्गन्ध आएको वस्तुको ल्याव परिक्षण गर्न आवश्यक नै नहुने उनले बताए । त्यहाँ रहेको दुधको नमूना संकलन गरी परीक्षण गरिएकोमा दुधको नमुनामा समेत फ्याटको मात्रा कम भेटिएको उनले उल्लेख गरे । यसअघिको अनुगमनमा समेत उक्त डेरीमा अखाद्य वस्तु फेला परेको थियो । पटक–पटक सचेत गराउँदा पनि व्यवसायीले अटेर गरेको अनुगमन टोलिले जनाएको छ ।
प्रतिक्रिया