बिहान साढेचार बज्यो । निदले छाड्यो । बाहिर बुँदाबुँदी भयो । घर अगाडिको किसानको बारीमा मौलाएको मकैको बोटको सुमधुर स्वर कानमा प-यो । मन चञ्चल भयो । उठेर झ्याल खोलेँ । नागार्जुनतिर आँखा पोखियो । कालो बादलले ढपक्कै ढाकेको रहेछ । केहीबेरमै पानी दर्किन थाल्यो । धेरैदिनपछि गृष्मको शीतल बिहान । शान्त मन । झरीको सौन्दर्यसित छताछुल्ल पोखिन मन लाग्यो किसानको खेतबारी तिर । कता कता आँफैभित्र बर्सिदिन मन लाग्यो ।
बारी छेउको बकैनाको बोटमा बसेर चिवेचरीले आफ्नै भाखा, शैली र धुनमा बिहानीको सन्देश बोलिरहेछ । भालेको डाँको कताकताबाट कानमा ठोकिन पुग्छ । काग कराउँदैछ बिहानीलाई ब्युँझाउँदै । भँगेरीको आवाज कानमा पर्छ । उतै धोविनीका भालेपोथी बिहानमा चिरविर गर्दैछन् । झरीको स्वरमा मिसिएका पंक्षीको कलखले बिहानी औधी गुञ्जायमान भएको छ । म यही सौन्दर्यतामा लठ्ठिएको छु । समय बित्दै छ । पानी दर्किदै छ ।
असारे झरी । सुन्दर बिहान, शान्त शहर । मानिसको चहलपहल छैन शहरको बिहानीमा । झरीको सुमधुर स्वर र बिहानी शितलमा सिरकभित्र घुर्सदै छन जोडीहरू । सडकमा घारघुर छैन । झन पछि झन अँधेरिँदै छ बिहान र पानी दर्किदै छ । बलेसीको मिठो धुनमा झन मिठो निद्रा पर्छ । खेतबारीमा जानु छैन शहरवासीलाई ।
जीवनसित तुलना गर्छु कर्कलाको पानीलाई । प्रत्येक थोपामा जीवन वर्षेको छ । एकै क्षण कर्कलाको पातमा टिलिक्क टल्किन्छ जीवन र ढल्केर जान्छ । यो सुन्दर बिहानी । यो असारे झरी । कर्कलाको पातमा टल्केको ‘जीवनः मुहूर्त मपि जीवेत नर शुक्लेन कर्मणी ।’
यसवर्ष वैशाखतिर पश्चिमा वायुले केही दिन हिले वर्षा ल्यायो । घर आँगनमा हिलो पोतियो । वनै हिलो भयोे । मनै हिलो भयोे । प्रकृतिको अनुहारमा हिलो छ्यापेर गयो । तर अहिले यो मौनसुनी वायु हो । मेरै हिमालयको पानी बगेर बंगालको खाडीमा पुग्छ । गृष्ममा वाफ बनेर आकाशमा जम्मा हुन्छ । बादल बनेर पहाडमा ठोकिन्छ । भारतको चेरापुञ्जी हुँदै पश्चिम हानिन्छ र नेपालमा पानी पर्छ । पूर्वी पहाडलाई भिजाउँदै पश्चिमतिर लाग्छ । प्रत्येक वर्ष मौनसुनी वायुले वर्षा हुन्छ । एकै छिन पछि आकाश गर्जिन्छ । पानी खनिन्छ । सडकमा भल बग्छ । झ्यालनेर बसेर बाहिर प्रकृतिको लिला हेर्दैछु । पानी त चैतमा पनि पर्छ । तर असारे झरीको सौन्दर्य अद्भूत छ । यो बादलमा पश्चिमा वायुको प्रभाव छैन ।
नेपालमा हरियाली ल्याउँछ किसानको आँखा र मनमा । मनको हरियाली वनको हरियाली कति कञ्चन कति सफा छ किसानको मन । मनको मैलो पखालिदिन्छ वर्षाको भेलले । सडकको फोहोर बढारीदिन्छ बाढीले । मेरो मनको तलाउमा यस्तै यस्तै सोचको बुँदाबुँदी हुँदैछ ।
एकजोडी काग पानीमा नुहाँउदै भूर्र उडेर पर कता कता बादलमा हराए । मैले टोलाएर हेरिरहेँ । यो झरीमा किन भिज्नु परेको होला । कसले सिकायो पानी बोकेको बादलभित्र हराउन । जीवभित्र आत्मा छ । उनीहरूको मनले उड्न भन्छ । चेतना छ सम्वेदना पनि छ । प्रकृतिले सिकाउछ र अह्राउछ घुमफिर गर्न । भोक तिर्खा उनीहहरूमा पनि छ । आफ्नै भाषा छ पशु पंक्षीहरूको । हामी बुझ्न सक्दैनौ उनीहरूको भाषा । यस्तै यस्तै भाव तरंगको लहरीमा हराँउदैछु म । अनौ समाउने थात थलो छैन यतिखेर । कलम समाएर जोत्न तम्सिन्छ मन । तर मन स्थिर छैन । फेरि आँखा बाहिर किसानको बारीमा पोखिन्छ ।
यो बिहानी । झरी परेको बिहानी । भिण्डी, खुर्सानी, वैगन लहलह छ किसान दाइको बारीमा । अर्को कुनातिर फर्सीको झाङ फलेको छ । सिमी वोडी र घिरौंला अलगअलग रोपेर थाँक्रामा पठाएका छन् । कुनाको वकैनाको बोटमा स्कुस र लौकाको झाल लहलह छ । कुरिलो पनि राम्रै भएको छ छेउतिर । चिचिन्नोको झाललाई थाक्रोतिर सोझाई दिएका छन् उनले । पर्खाल वरिपरी कर्कलो रोपेका छन् । कर्कलाको पातमा पानी पर्छ । अलिक बीचैमा एकैछिन जम्मा हुन्छ । पातले धान्न सक्दैन । एकै छिनमा ढुलुक्कै हुन्छ । जमिनमा पोखिन्छ । उतै हराउँछ । “जीवन कर्कलाको पानी जस्तै हो” भन्ने बुढापाकाहरूको भनाइ यस्तै रहेको छ ।
जीवनसित तुलना गर्छु कर्कलाको पानीलाई । प्रत्येक थोपामा जीवन वर्षेको छ । एकै क्षण कर्कलाको पातमा टिलिक्क टल्किन्छ जीवन र ढल्केर जान्छ । यो सुन्दर बिहानी । यो असारे झरी । कर्कलाको पातमा टल्केको ‘जीवनः मुहूर्त मपि जीवेत नर शुक्लेन कर्मणी ।’
असारे झरी र किसानको अनौठो सम्बन्ध छ यी दुईमा । असारे झरी दिक्क लाग्छ होला सौखिन हुँ भन्नेलाई । विदेशी साडी र जुत्तामा हिलो पर्छ कि भन्ने भयले चिटचिटाई हुन्छ सम्भ्रान्तहरूलाई । किसानलाई हिलो बसाउँछ । बर्खामा हिलोसँग खेल्छ साँझ बिहान र सुन फलाई दिन्छ हिलोमै किसानले । त्यसैले झरी मनपर्छ किसानलाई । झरीको प्रतीक्षामा बसेको हुन्छ साँझ बिहान । असारमा २,४ दिन झरी नपर्दा किसानको ओठ मुख सुक्छ । असार साउनमा बर्षा नहुँदा इन्द्रदेवको पूजा गर्न निस्कन्छन किसानहरू र विधि विधान अनुसार पूजा अर्चना गर्दै आकाशतिर फर्केर ‘हरहर महादेउ अलिकति पानी देउ’ भन्दै नारा जुलुस गर्छन् । तिर्खाएको काकाकुलले झैं आकाशमा बादलको घेरा खोज्छन् किसानहरू ।
झरी जीवन हो किसानको र किसानका लागि झरी पर्छ बर्खामा । बर्खे झरी केवल किसानको लागि मात्रै होइन सिंगो मानव जीवनका लागि अनिवार्य छ । झरीको सम्बन्ध हलि, बाउसे र खेतालीसित छ । किसानसित छ र सिङ्गो जीवन प्रणालीसित जोडिएको छ । मानव जाति बच्न र बचाउन झरीसित मितेरी गाँस्दै खेतबारीमा पस्नुपर्छ ।
म किसानको छोरो हुँ । मेरो रातको प्रत्येक कणमा किसानको वंश छ । त्यसैले मलाई झरी औधी मनपर्छ र किसानको पसिनाको मूल्य कति छ एकएक हिसाब आउँछ । त्यसैले आज आनन्दित छु बिहानको झरीमा । कति सुन्दर झरी परेको बिहान । म आल्हादित छु मेरो खेतबारीमा ओत लाग्छ । मेरो पखेटा भैदिएको भए एक पटक परेवा बनेर खेतबारी चहारेर आउँथे होला । पानी परेको छ खेतबारीले डाकेको छ उता । घरको वरण्डामा बसेर अतितको परिवेश सम्झिन्छु खेतबारीमा छिर्केको । हिलोमा दिनभरी खेलेर लखतरान परेको शरीरलाई साँझमा घर पुर्याएर गुन्द्रीमा पल्टाइ दिन्छु । डनलप र तकिया चाहिँदैन त्यतिबेला । एकैचोटी बिहान व्युँझिदा सिमसिम पानी परेको छ । भावुक बन्छु ती दिन सम्झेर । मिठो सपना बन्छ अतित । बलेसी बनेर टप्किन्छ आँखामा । परिवारले कतै देख्छ कि भनेर पुछिदिन्छु औंलाले । घरका जाहानको अझै साई शब्द छैन । अनि ढुक्क हुन्छु ।
अगाडि किसानको तरकारी बारी यस वर्ष विगतमा जस्तो लहलह चाहिँ बन्न सकेको छैन जेठमा पानी नपरेर । असन तिरका किसान परिवारले अझैसम्म जोगाई राखेको एक टुक्रा जमिन छ मेरो घर अगाडि । उपत्यकाको नेवार जाति मध्य एकथरी व्यापार व्यवसायमा लाग्यो । त्यसै सिलसिलामा देशको विभिन्न स्थानमा पुग्यो । व्यापारी केन्द्रमा वर्चस्व जमायो । अर्को थरीले खेतीपाती धाने र रैथाने भएर बसे । काठमाडौंका उर्वर खेतका फाँटमा पछिल्लो कालखण्डमा मानिसहरूको अतिक्रमण भयो । खेत मासियो । कृषि व्यवसाय अलपत्र भयो । गोंगवुु, बालाजु क्षेत्रमा अति उब्जाउ खेतको फाँटमा सरकारले प्लटिङ ग-यो । जमिन खण्डिकरण भयो । जगा दलालले सोझा किसानलाई ललाई फकाई जगा हात पारे र मोटाए । यो परिवारको पनि थुप्रै खेत थियो रे हाम्रो छरछमेकमा । हामी बसेको पनि उनैको रे । यहाँ ठूलठूला महल बने । त्यसैको बीचको एक टुक्रा जमिनमा किसान दम्पत्ती साँझ बिहान तरकारी बारीमा परम्परागत पसिना पोख्दै आएका छन् । बिहानको झरी तिनै किसानको बारीमा पोखिएको छ । तरकारी मौलाएकै छ । त्यही तरकारीबारी हेरेर म लोभिएको छु ।
धेरै अन्न फलाउने र धेरैको जीवन धान्ने धर्म हो किसानको । त्यही ध्याउन्नमा जीवन बिताए मेरा पूर्खाले । अरूको कमाई खानु परेन उनीहरूलाई । लोभ लालचा र ठूलो आकांक्षा पालेनन् उनीहरूले ।
किसानको अधवैंशे दम्पत्ती साँझ बिहान देखापर्छन् । मिहिनेत पोख्छन् बारीमा । सीप लगाँउछन्, मलजल गर्छन् साँझबिहान र धेरै तरकारी फलाउँछन् । जीवन गाँसिएको छ बारीसित र दिनचर्या जोडिएको छ यतै । उम्रेको बजारमा पु-याउँछन् र २,४ पैसा समाएर औधी रमाउछन् र घरखर्च टार्छन् । कुनै ठूलो आकांक्षा छैन उनीहरूमा । साँझ बिहान हातमुख खुशी साथ जोर्न पाए भयो । पानी नपर्दा भने निकै चिन्तित हुन्छन् । मौसमी खेतीका लागि इनारबाट पानी तान्ने गर्छन् । सुख्खायाममा अलि दुःख हुन्छ विचरालाई । मैले उनीहरूको एकनासे जीवनचर्या दशवर्षदेखि नियाल्दै आएको छु निकै नजिकबाट । म तरकारीको पातमा परेको पानीले भित्रैदेखि भिजेको छु । मेरो आस्था छ सम्मान र श्रद्धा छ श्रमप्रति । त्यसैले होला यो बिहानको झरीको सौन्दर्यमा म पग्लेको छु पानी पानी बनेर पोखिएको छु किसानको बारीमा ।
किसानहरू तरक्क पसिना काढेर काम गर्छन् खेतबारीमा । एउटै सपना छ धेरै अन्न फलाउने । माटोको खनखोर्साई, मलजल र गोडमेलमै बितेको छ जीवन । पुस्तौं पुस्ता देखिको यो पेशाले छाडेको छैन किसानलाई । धरतीपुत्र, धरतीका उपज धरतीको सेवामा समर्पित हुन्छ । जीवनपर्यन्त माटो खेलाउँछ । पसिनाले भिजाउँछ असारे झरीले झैं । प्रत्येक अन्नको दानाले सोसेको छ पसिना । पसिनाको पौरख हो जीवनको । संसार बाँचेको छ यसैको भरमा । धेरै अन्न फलाउने र धेरैको जीवन धान्ने धर्म हो किसानको । त्यही ध्याउन्नमा जीवन बिताए मेरा पूर्खाले । अरूको कमाई खानु परेन उनीहरूलाई । लोभ लालचा र ठूलो आकांक्षा पालेनन् उनीहरूले ।
त्यसैले मलाई सोझा पुर्खाको सुधो सन्तान हुँ भन्न धक छैन । मलाई असारे झरीले अतित तिर तान्छ दवदवे हिलोले साँझ बिहान रमाउन । जीवनको पूवार्धमा पुर्खाले झैं पसिना मिसाएँ माटोमा र मूल्य चुकाएँ जीवनको । आफ्नै हातले अनौ समाएँ पुर्खेउली खेतबारीमा र पसिना पोखेर सुन फलाएँ । आज मेरो परिवेश फेरिएको छ । उता खेतबारी टोलाएको छ मेरो बाटो हेरेर । असारे झरीमा वरण्डामा बसेर सम्झिदै छु खेतबारी । किसानको बारीमा फलेको घिरौला करेला भिण्डी र कुरिलोका आँकुरामा लोभिदै लेखनीको अनौ समाएर पीडा पोख्दै छु कोरा कागजमा । कलमको अनौ समाएर शेषजीवन बिताउने सङ्कल्प गरेको छु जीवनको उत्तरार्धमा । मैले जोत्न छाडेको छैन । राजनीतिको बाँझो खेत जोतेँ उर्जाशील जीवनमा । अहिले साहित्यको सुन्दर फूलबारी गोडमेल गर्ने प्रयास गरिरहेको छु । सोचेको छु । तैपनि साधना र सीप चाहिने रहेछ माली बन्न ।
झरीको सौन्दर्य पिएर जीएको छ किसानको जीवन । हिलोको बासना लिएर हाँसेको हुन्छ किसान । म किसान बनेँ जवानीमा । त्यसैले झरीले मोहनी लगायो असार साउनमा । झरीमा भिज्दै खेत रोपाइको बेला मकै भाँचेको डाँठ(ढोड) पन्छाएको, बिहानको झरीमा भिज्दै घाँसको भारी लगेर गोठमा पल्टाउँदाको आनन्द अहिले कहाँ मिल्नु । सेउ ओडेर बाउसो खनेर मेलो सार्दाको सौन्दर्यानुभूति अझै ताजै छ मुटुको एक छेउमा । त्यसैले बिहानको झरीले यति औधी तानेको छ शहरको यो भिन्न परिवेशमा पनि ।
असारको सफा उघ्रेको घमाइलो बिहान निरसिलो र उजाड हुन्छ किसानका लागि बासिबिदो परेको रातले अनिकाल निम्त्याउँछ भन्थे बुढापाकाहरू । ‘साउन गलेन चैत जलेन’ भने बाली फस्टाँउदैन भन्ने कथा सुनिन्थ्यो उति बेला । “साउनको राती आकाशमा” एउटै तारा देखा परे सयमुरी धान घट्छ भनेको हजुरबाको मुखबाट सुनेको थिएँ । थकित किसान सिमसिम पानीको सुमधुर स्वरमा लठ्ठिदै निद्रा देवीको काखमा समृद्धिको सपना देख्छ रातभर ।
मेरो देशमा असारे झरीसित किसानको दिनचर्या गाँसिएको छ । दुःख सुखका बिम्वहरू एकैसाथ झरीसित वर्षेका छन् । यो किसानको दुनियाँ । किसानले पालेको छ विश्व । किसानले पस्किन थाल्छ बिहानीको चियाको कपसित र परिकार थपिदै जान्छ रातिसम्म । गरीबका झोपडीदेखि महलका भान्साहरूमा भकभकी पाकेको छ किसानको पसिना । तर श्रमको सम्मान छैन किसानको पसिनामा बाँच्नेहरूलाई ।
असारे पन्ध्र मानो खाएर मुरी फलाउने दिन हो । एकछिन फूर्सद हुँदैन घर परिवारलाई । रोपाइको माचो हुन्छ । किसानका गाई भैसी ब्याउने पनि यही बेला हो । घाँस पानी दिने फुर्सद छैन एकै छिन । यता गमलामा धान रोपेर उपहास गर्ने मन्त्रीहरुपनि भेटिन्छन् असारे पन्ध्रममा । ठूलो गराको दवदवे हिलोमा तारे गोरू कुदाउँदै खोक लगाएको वास्तविक सौन्दर्यको आनन्द कहाँ पाउनु यतातिर ?
झरीको सौन्दर्य पिएर रमाएका आँखामा बलेसी बनेर तप्किन्छ आँसु उति नै बेला । कतिले मरिदिनु पर्ने रे बर्खे भेल र बाढी पहिरोमा परेर । नदी किनारका बस्ती बढारिन्छन् थाहै नपाई । झरीको रौद्ररूप देखिन्छ उतिखेरै । यसपटक पनि धेरैकोे ज्यान सँगै लगिसकेछ झरीले । अझै कतिले ज्यान दिनु पर्ने हो थाहा छैन । झरीको सौन्दर्यसित सँगै हिँडेको छ रौद्ररूप पनि । झरी बनेर पोखिन्छ खेतबारीमा । जमिन भिज्छ । मूल फुट्छ जमिनबाट र किसानका फाँट सिँचाई हुन्छ मूलको पानीले । त्यही झरी सडकमा पोखिन्छ बाढी बनेर । पाखा पखेराको पानी मिसिन पुग्छ खोला खोल्सीमा र बाढी बनेर मिसिन्छ नदीहरूमा । झरीको यात्रा बादल देखि सागरसम्म चक्रवरिपरी घुमेको छ युगौं युगदेखि । झरी एक रूप अनेक । पानी एक रूप अनेक । अनेकता भित्रको सौन्दर्य अनौठो छ । झरी पीडा बनिदिन्छ कतिका लागि । त्यो पीडालाई यसरी पोख्छन् गाँउका छोरी बुहारीहरू :
पानी प-यो चार दिशा घेरेर
काँ बसेर रूँ धोको फेरेर ।
अर्को पखेरोतिर सुरिलो भाकामा सुनिन्छ :
पानी प-यो सालघारी करायो
बर्खा लाग्यो भेट हुन हरायो ।
गाउँतिर गाइने यस्तै गीतहरूभित्र झरीको स्वरुपको गहिरो अर्थ छिपेको छ ।
मेरो देशमा असारे झरीसित किसानको दिनचर्या गाँसिएको छ । दुःख सुखका बिम्वहरू एकैसाथ झरीसित वर्षेका छन् । यो किसानको दुनियाँ । किसानले पालेको छ विश्व । किसानले पस्किन थाल्छ बिहानीको चियाको कपसित र परिकार थपिदै जान्छ रातिसम्म । गरीबका झोपडीदेखि महलका भान्साहरूमा भकभकी पाकेको छ किसानको पसिना । श्रमको सम्मान छैन किसानको पसिनामा बाँच्नेहरूलाई । मानव जातिको अहिलेको विकास रैथाने जीवन र कृषि व्यवसायको थालनीबाटै भएको हो भन्ने कुरा भुलिसेका छन् आधुनिक मानिसले । किसानको झरी बादल र बर्षासित गहिरो सम्बन्ध किसान र कृषि उपजको । त्यसैले मलाई गीत गाउन मन लाग्छ असारे झरीको । पारी पखेरातिर उर्लिन थाल्छन छाँगा छहराहरू । ती कञ्चन छाँगा छहराको छेउछाउमा घाम पानीसित मिसिएर पोखिन्छ इन्द्रेणी यसै मेसोमा । जीवनमा इन्द्रेणीको रङ् घोलेर गीत गाउन मन छ असारे झरीको । झरी पछिको धराको छाती चुमेर युग युगसम्म बाँचिरहन मन छ झरीको गीत गाँउन । त्यसैले असारे झरीको सौन्दर्यसित बगिदिन्छु पानी बनेर ।
dnsharma.com.np
प्रतिक्रिया