२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण, खजुरा क्षेत्रको १८ सय मिटर भने अझैपनि कन्तबिजोग



नेपालगन्ज । नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए ।

“यही गतिमा काम भए हाम्रो घर अगाडि छिट्टै चार लेन सडक बन्ने छ”, बर्माले खुसी हुँदै भने, “यति छिटो काम भएकामा स्थानीय बासिन्दा सबै खुसी भएका छन् ।” हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका इञ्जीनियर कृष्ण पाण्डेले नेपालगन्ज–गुलरिया सडकखण्ड विस्तारअन्तर्गत हाल माटो पटानको काम भइरहेको जानकारी दिए । उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुने छ ।

सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको थियो । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगन्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जीनियर पाण्डेले बताए ।

समयमै सडकको बीच भागमा पर्ने रुख हटाउनुका साथै सडकका पोल सारिएका कारण अहिले सडक विस्तारको प्रारम्भिक चरणमा माटो पटान, नाली निर्माण र ग्राभेल गर्ने काम द्रुतगतिमा अघि बढेको छ । सडक विस्तारका क्रममा सडक किनारमा रहेका चार सय १५ रुख हटाइएको छ । वन कोषमा करिब रु ६५ लाख जम्मा गरेर कटान गरिएका रुख सडक डिभिजन परिसरमा राखिएका छन् । रातदिन नभनी सडक निर्माणको काम भइरहेकाले बजेटमा कमी नभए एक वर्षभित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता गरेको इञ्जीनियर पाण्डेको भनाइ छ ।

यो सडकको समयावधि तीन वर्षको छ । खजुरा खण्डमा दशैँसम्म कालोपत्र गर्ने तयारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज गुलरिया सडक खण्डमा शर्मा एण्ड कम्पनीले काम द्रुत गतिमा गरेपनि सोही सडकको खजुरा खण्डको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनीले भने सडकलाई कन्तबिजोग बनाएर छाडेको छ । खजुरा खण्डाको १८ सय मिटरको ठेक्का पाएको गजुरमुखीले बिचैमा काम छाडेर अलपत्र मात्र पारेको छैन, सम्झौता बिपरित गुणस्तर हिन काम गरेर बिगत ४ वर्षदेखि खजुरा क्षेत्रलाई जोखिममा पु¥याएको छ ।

सडकको अनुगमन गर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगन्जले काम गरेको भन्दा बढी भुक्तानी दिएका कारण ठेकेदार बिचमै काम छाडेर पटक पटक सम्पर्क बिहिन हुने गरेको सडक डिभिजन स्रोतले बताएको छ । सडकको जति प्रतिशत काम भएको छ, त्यसभन्दा बढी प्रतिशत रकम बराबारको भुक्तानी गरिदिएपछि ठेकेदारले बदमासी गरेको स्रोतको दाबी छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरिरहेको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा गजुरमुखी निर्माण सेवाले सम्झौता गरेको थियो । सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए । बजेटको सुनिश्चितता भए अधुरो कमको ठेक्का पनि शर्मा एण्ड कम्पनीलाई दिएर काम गराउन सकिने उनले बताए ।

उनले नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अहिले उत्साहजनकरूपमा भइरहेको उल्लेख गर्दै यही गतिमा काम सम्पन्न गर्न गराउन आफूले आवश्यक पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ११ : १० बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी