काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीलगायत सबै चिनियाँ नाकाहरु आजबाट खुलेका छन् । नाका खुलेसँगै दुईतर्फी आयात निर्यातको काम सुचारु भएको छ ।
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला भएका हुन् । चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको उपस्थितिमा सोमबार मितेरी पुलमा तीन कन्टेनर पठाएर निर्यात खुला गरिएको हो । तातोपानी नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।
तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएको थियो । त्यसपछि राम्रोसँग कहिल्यै खुल्न नसकेकोमा कोरोना संक्रमणपछि पूर्णतया बन्द रहेको थियो । अब भूकम्पअघिकै अवस्थामा सुचारु हुने बताइएको छ ।
नेपाली उद्योगी व्यवसायीहरुले चिनियाँ नाका खोल्न लामोसमयदेखि माग गर्दैआएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुलेका हुन् ।
मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।
जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजवाट खुलेका छन्।
यसअघि रसुवाको रसुवागढी–केरुङ नाका यसअघि नै खुलिसकेको छ।
प्रतिक्रिया