काठमाडौं । लुम्बिनी प्रदेशले तेस्रो पटक पनि १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
आज सम्पन्न प्रतियोगितामा लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो। लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो स्थान प्राप्त गरेको छ भने ७ स्वर्ण, ५ रजत र ११ कांस्य हात पारेर कोशी प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।
सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य हात पा¥यो ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य–सचिव घनश्याम पौडेललगायतले मेडल, प्रमाण पत्र सहित पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।
एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र(छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र(छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको राखेपले जनाएको छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
सुदूरपश्चिम प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१ः०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो ।
लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२ः३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो । प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने ।
अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया