८ मंसिर २०८१, शनिबार | November 23, 2024

महङ्गियो चलचित्र निर्माण



काठमाडौं । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी चलचित्र निर्माणको खर्च बढेको र हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि निर्माताहरूको सङ्घ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो । त्यसको केही समयपछि कलाकारले दैनिक पैसा नपाउने र चलचित्र हलमा रिलिज भएपछि कम्तीमा आठ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिने निर्णय गर्दै ‘उद्योग र प्रणालीलाई बलियो बनाऊ’ कदम चालेको निर्माताले बताएका थिए ।

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ । अन्य चलचित्रहरू झिङ्गेदाउ, दुई नम्बरी र के घर के डेराले लगानी सुरक्षित गर्दै केही प्रतिशत मात्र मुनाफा आर्जन गरेको छ । नेपाली चलचित्रको लागत बढ्दो रहेको र त्यो अनुपातमा कमाइ नहुँदा धेरै निर्माताहरू लगानी उठाउनै मुस्किल रहेको बताउँछन् ।

तेलुगु चलचित्रमा देखिएको उदाहरण नेपालमा पनि देखिन सक्ने सङ्केत नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले गरे । “कलाकारले बजारलाई हेरेर पारिश्रमिक लिने हो कि वा चलचित्र भवनमा प्रदर्शनमा लाग्ने लागतलाई कम गर्ने हो कि रु भन्ने लगायतका विषयमा छलफल भइरहेको छ”, उनले भने, “निर्मातालाई चलचित्र बनाउने वातावरण सिर्जना गर्न कलाकारसँगै प्राविधिक तथा हल सञ्चलाक पनि साथमा रहनु पर्छ ।”

उनले कलाकारलाई उच्च पारिश्रमिक दिएर चलचित्रको लगानी बढाउने कार्य रहरमा बनेका निर्मातामार्फत भएको स्वीकार गरे । उनले भने, “रहरिया निर्माताले गर्दा निरन्तर चलचित्र बनाउनेलाई समस्या परिरहेको छ । यसबारे सम्बन्धित सङ्घसंस्थाले सोच्नै पर्छ ।” उनले यसबारे सङ्घले आधिकारिकरूपमा निर्णय गरेर नै अगाडि बढ्ने जानकारी दिए ।

चलचित्र निर्माण लागत बढ्नुमा प्राविधिक कारण नरहेको नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए । उनले भने, “प्राविधिकले सरकारमार्फत तोकिएबमोजिमको ज्यालामा काम गर्न अप्ठेरो छ । त्यसैले निर्मातासँगको सहमतिमा पारिश्रमिक तय हुन्छ । निर्माणको लागत बढ्नुमा प्राविधिकभन्दा अन्य पक्ष सक्रिय छन् ।”

उनले प्राविधिकले पूर्ण पारिश्रमिक नपाउने गुनासो आइरहेको जानकारी दिए । “महिनामै दुईभन्दा बढी गुनासो आउने गरेको छ । हामीले अब वैशाखदेखि लागु हुने गरी सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरेर न्यूनतम पारिश्रमिक निर्धारण गर्दैछौँ”, अध्यक्ष लामाले भने, “अन्तर्राष्ट्रियरूपमा आठ घण्टा काम गर्ने नियम भएता पनि १२ घण्टाको शिफ्ट बनाउने छौँ । हामी अप्ठ्यारो नभई उहाँहरूको सहयोगी हौँ ।” अध्यक्ष लामाले विदेशी चलचित्रको छायाङ्कनमा ६५ प्रतिशत नेपाली प्राविधिकको अनिवार्य सहभागिता पनि कडाइका साथ कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

निर्देशकसँगै निर्मातासमेत रहेका ज्ञानेन्द्र देउजाले कलाकारमा गरिएको लगानी फिर्ता आउने अवस्था हुनुपर्ने बताउँदै अभिनेता राजेश हमालको समयमा लिने पारिश्रमिकको तुलनामा पाँच गुणाभन्दा बढी व्यापार हुने गरेको स्मरण गरे । “बजार व्यस्थापनमा फितलो हुँदा नै सङ्कट बढिरहेको छ । चलचित्र निर्माण गर्न अन्य कठिनाइ पनि छन् । यसमै पारिश्रमिक पनि अहिले मुख्य कठिनाइ बनेको छ”, निर्देशक देउजाले भने ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले देखिएका समस्यालाई विस्तारै समाधान गर्ने बताए । आफू नवनिर्वाचित भएकाले समस्यालाई पहिचान गरी समाधानमा लाग्ने उनले प्रतिक्रिया दिए ।

यही सन्दर्भमा निर्मात्रीसँगै अभिनेत्रीसमेत रहेकी पूजा शर्माले पारिश्रमिकको विषयमा दिएको अभिव्यक्तिको चर्चा भइरहेको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले बजार अनुकूल हुने पारिश्रमिक मात्र लिने जानकारी दिएकी हुन । “म अभिनय गर्दा निर्माता भएर सोच्ने छु । मेरो पारिश्रमिकले निर्मातालाई असर नगरोस् भनेर नै घोषणा गरेकी हुँ”, अभिनेत्री शर्माले भने ।

बजार अनुकूलभन्दा पनि अहिले एउटा चलचित्र निर्माणमा लाग्ने लागत अस्वाभाविक रहेको देखिन्छ । लगानी गरिएको चलचित्रले बजारबाट लगानी सुरक्षित गर्न नसक्दाका समस्याबारे छलफल हुन थालेको छ । लागत बढ्ने क्रम तीव्र हुँदा निर्माताहरूले विकल्प खोज्ने गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : ०३ बजे

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको

काठमाडौं महानगरपालिकामा करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५