बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित शहर बनिरहेको बुटवल उपमहानगर भित्र उपमहानगरले शहरी क्षेत्रभित्र खसीबोका बध गर्न प्रतिबन्ध लगाउने भएको छ ।
मानवबस्तीकैबीचमा बधशाला संचालन गरेर विभिन्न टोलहरु दुर्गन्धित बनेको पटक पटक गुनासो आएपछि उपमहानगरले शहरी क्षेत्रमा बधशाला संचालनमा प्रतिबन्ध लगाउने भएको हो । उपमहानगर र पशु व्यावसायीबीच नवनिर्मित बधशालामा नै पशुबध गर्ने सहमति भएसँगै बुटवलबासीले दुर्गन्धबाट मुक्ति पाउने आशा पलाएको छ ।
बुटवल उपमहानगरको पुरानो बसर्पाक नेपालगन्जरोड, भुड्कीचोक लगायतका स्थानमा मापदण्ड विपरित संचालनमा रहेका बधशालाहरुमा काटिएका मासु अस्वस्थकर मात्र नभएर बस्ती नै दुर्गन्धित हुने गरेको थियो । ती पसलहरुमा अनुगमनका क्रममा बरामद भएका मासुहरु पटक पटक अस्वस्थकर र कुहिएको अवस्थामा समेत फेला परेका थिए । गुणस्तर कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा पनि बुटवलमा अस्वस्थकर मासु बिक्रि भइरहेको रिपोर्ट समावेश छ ।
उपभोक्ताले नजिक र सहजताका नाममा वषौं देखि सडकपेटी, मुख्य राजमार्ग, खुला स्थान र न्युनतम मापदण्ड पूरा नगरी सञ्चालित मासु पसलको मासु उपभोग गर्न बाध्य हुँदै आएका छन् । त्यस्ता पसलहरुमा स्थानीय सरकार, प्रशासन, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा वाणिज्य कार्यालयहरूबाट अनुगमन भए पनि कारवाही हुने गरेको छैन ।
बुटवलमा अस्वस्थकर मासु बन्देज हुने गरी आर्थिक वर्ष वि.स.२०६६/२०६७ सालमै प्रदेश मुकाम बुटवलमा पशु बधशाला निर्माणको सुरूवात गरिएको भएपनि निर्माण गर्ने निकायको ढिलाईले अहिले पनि बधशाला सञ्चालन हुन सकेको छैन । उता बधशाला पूर्णरुपमा संचालनमा नआउँदै उपमहानगरले नगरको मानवबस्ती क्षेत्रमा पशुबध गर्न बन्देज लगाउने निर्णय गरेको छ ।
विभिन्न निकायबाट करिब २७ करोड रूपैयाँ खर्च भइसकेको बधशाला संचालनमा नआउँदा पूर्वाधारहरू जीर्ण हुने अवस्थामा पुगेका छन् । बुटवल उपमहानगरका निर्वतमान मेयर शिवराज सुवेदीको पालामा सार्वजनिक निजी साझेदारी कार्यक्रमबाट बधशाला सञ्चालन गर्ने मोडालिटी बनेको थियो ।
भौतिक पूर्वाधार तयार भएर परिक्षण समेत सफल भएको बधशाला सञ्चालनका लागि बुटवल उप-महानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएपछि संचालनमा नआउँदै जिर्ण बन्न थालेको बधशाला संचालनमा आउने देखिएको छ । दुईपक्षबीच भएको सहमति अनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
उपमहानगर प्रमुख पाण्डेका अनुसार सार्वजनिक, निजी, सहकारी उत्पादक साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने छ । बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण तयारी भइरहेको पाण्डेले बताए ।
बधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म बधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार बधशाला सञ्चालन हुने गरि कार्यबिधि बनाइएको छ । बधशाला सञ्चालनका लागि बुटवल उप-महानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पनि पारित गरिसकेको छ । विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु विक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । कानूनी हिसावले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउनेछन ।
बधशाला सञ्चालनका लागि व्यवसायीक कम्पनी र उपमहानगरपालिका बीच सम्झौता भइसकेको र छिटै सम्झौता कार्यान्वयनमा जाने उपमहानगर प्मुख पाण्डेले बताए । उनले बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको समेत बताए ।
बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उप-महानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिट्टै नैं बधशाला सञ्चालन हुने जनाए । बधशालाको परीक्षण समेत भइसकेकाले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर बधशाला सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
सम्झौता अनुसार बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उप-महानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउने छ । बुटवल उपमहानगरपालिका-१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ । बधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उप-महानगर, हेफर इटरनेशनल सहितको लगानी छ ।
दैनिक एक हजार खसी-बोका बध गर्न मिल्नेगरी बधशाला बनाइएको छ भने त्यहाँ बाख्राको चरण, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण छन् । बधशालाबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने, पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने योजना छ ।
बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उप-महानगरबीच भएको सम्झौताअनुसार बधशाला निर्माणपश्चात् उत्पादक किसानहरू र मासु व्यवसायीहरूले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले सो बधशाला सञ्चालन गर्ने सहमति छ । बुटवल बधशालामा करिब १२ हजार खसी-बोका उत्पादक महिला किसानहरू र ३०० जना मासु व्यवसायीहरू सहभागी हुने दाबी गरिएको छ । रूपन्देहीमा दैनिक २०० खसी बोकाको मासु खपत हुँदै आएको आँकलन छ । रुपन्देहीमा खपत हुने बाहेकका मासु विभिन्न जिल्लामा लगेर विक्री गर्न सकिने बताइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले बधशाला सञ्चालनमा आएपछि यस क्षेत्रमा मासुको गुणस्तर र स्वच्छता नमूना हुने बताए । मासु पसलले बधशालामा पुगेर मासु खरिद गरेर मात्र बिक्री गर्न पाउने उनले बताए । बुटवल र यस आसपासका उपभोक्ताले बधशालाको आवश्यकता २०५५ सालमा नै महसुस गरि माग गर्दै आएपनि त्यसको साढे दुई दशकपछि बधशालाले पूर्णता पाएको हो ।
पहिलो चरणमा खसी बोका मात्रै काटने गरी पशु बधशाला सञ्चालनको चरणमा रहेको छ । अबको चरणमा राँगा, बंगुर र कुखुरा बध गर्ने गरी वृहत पशु बधशाला पनि बुटवलमा आवश्यक रहेको अधिकारकर्मी पाठकको भनाइ छ ।
प्रतिक्रिया