२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कुमाल समुदायको पेशा लोप हुँदै



पर्वत । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२/४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् ।

उनीहरुले विकल्प खोजेसँगै माटाका भाँडामा कुमालले भर्ने कलात्मक बुट्टा लगायतका सिर्जनात्मक सीपसमेत लोप हुँदै गएको हो । जीजुबाजेका पालादेखि विसं २०४२÷४३ सम्म माटोका हुण्डा, घैँटो, गलौंसा, आरी, ठेकी, दियो, पाला, भुड्का लगायतका भाँडाकुडा बनाउँदै आएका कुश्मा नगरपालिका-८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमाल यतिबेला छैनन ।

उनीहरुसँगै माटाका भाँडा बनाउने गरेका ९० वर्षका बुधे कुमाल भने हालसम्म जीवितै रहेका छन । उनीहरुको सीप र कला नयाँ पुस्ताले जीवित राख्ने कुरामा भने शङ्का गर्ने ठाउँ उब्जिएका छन् । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेशा धान्न मुस्किल परेको छविलालका छोरा भीमबहादुरले बताए ।

“माटाका भाँडा बनाउन माझमेलाबाट ल्याएको कालो चाम्रो माटो, खरेहा फलाम खानीको रातो माटो र कालीगण्डकीबाट ल्याएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ थमारेर औँडी बनाइ पोल्ने गरिन्थ्यो, औँडीका लागि सुकेका दाउरा, गुईंठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ”, कुश्मा-८ निवासी ८० वर्षीय चन्द्रबहादुर कुमालले भने, “अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् ।”

उनका अनुसार तत्कालीन समयमा कुमालले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडा स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजार भने भोटबाट आउने भोटेले नै गर्दथे ।

परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुने भएकाले पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेपछि यो पेशा झनै सङ्कटमा परेको भीमबहादुरले बताए ।

तत्कालीन समयमा कुश्मेली कुमालको जग्गा-जमिन प्रशस्त भएको र आकर्षक कमाइ अन्य पेशाबाट हुने भएकाले उनीहरु यो पेशाप्रति लालायित हुन नसकेको उनले बताए । पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेशासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : ४८ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका