बुटवल । समान्यतया बुटवललाई नजिकबाट चिन्नेहरु पुर्खाले नुनतेल किन्ने ठाँउ, लाहुरेहरु सुनौलीहुँदै फर्कँदा बस्ने ठाँउ, कुनै बेला आधा नेपाललाई सामान पु¥याउने बजार भनेर पनि चिन्ने गर्दछन् । इतिहासमा चासो राख्नेले बुद्धकालको बद्धवली, अंग्रेजलाई हराएको जितगढी किल्ला भएको क्षेत्र, लाखौं वर्ष पुरानो रामापिथेकसको बङ्गारा भेटिएको स्थान भनेर पनि बुटवललाई चिन्ने गरिन्छ । मिठो खाना खुवाउने थकालीहरुको खस्यौली बजार भनेर पनि बुटवललाई बुढापुरानाले सम्झने गर्दछन् ।
बुटवललाई चिनाउने धेरै तरिकाहरु छन् । सयौं वर्षको इतिहास बोकेको बुटवल अहिलेपनि विभिन्न थरिका पहिचानका साथ मध्य नेपालको एउटा आधुनिक शहरकारुपमा परिचय जमाएरै बसेको छ । धेरै थरी पहिचानसँगै पछिल्लो समय बुटवलमा आउने धेरै नेपालीलाई मिठो नेपाली स्वादको खाना खुवाउने गाँउले चुलोले पनि पहिचान थपेको छ । मध्य नेपालको बुटवल र बुटवलको मध्य क्षेत्रमा खुलेको गाँउले चुलो एकपटक खानाको स्वाद चाख्न पुग्नैपर्ने गन्तव्य बनेको छ ।
बुटवलको मध्य भाग मिलनचोकबाट उत्तर गल्लीको झण्डै १ सय मिटर लागेपछि गाँउले चुलो पुग्न सकिन्छ । बाहिरबाट हेर्दा सामान्य मध्यमस्तरको रेष्टुरेन्ट जस्तो देखिने गाँउले चुलो पछिल्लो समय बुटवलमा स्वादको पहिचान दिने अलग्गै स्थान बन्न सकेको छ भन्दा फरक पर्दैन ।
पहाडी हरियो तरकारीबाट बनेको ३ थरी खाँदेको अचार, भटमास र सिन्की साँधेको अचार, मुला, साग, सिजन अनुसारको अर्गानिक तरकारी तथा सदाबाहार जुम्ला वा मुस्ताङको सिमीको दाल । पाहुनालाई टेबलमा बसेदेखि नै थपिथपि मगमगाउँदो मोहीको स्वागत । माग अनुसार भात, कोदो, फापर वा कोदो र फापरको मिक्स ढिँडो । यत्ति मात्र हो गाँउले चुल्होको नियमित डिस । यही डिसको स्वाद लिन हरेक दिन त्यहाँ सयौं ग्राहकहरु टेबल खाली हुने प्रतिक्षामा गर्दछन् ।
मासु खान चाहने पाहुनालाई लोकल खसी वा गिरिराज कुखुराको मासु त्यसमाथि काठको ठेकामा जमाएको पहाडी लोकल घ्यू । गाँउले चुलोमा खराएर भातमा घ्यू हाल्दा सडकसम्म घ्यूको बास्ना आउँछ भन्छन् त्यहाँ खाना खाएर निस्कँदै गरेका ग्राहकहरु ।
यसरी जन्म्यो गाँउले चुलो
गुल्मीको शान्तिपुरमा नुनदेखि सुन सम्मको कारोबार गर्ने परिवारमा जन्मेका विपिन श्रेष्ठ र बुटवलमा ठेकेदारहरुको सानातिना काम गरेर आय आर्जन गर्ने विक्रम गुरुङसहित दुई युवाको परिकल्पनाबाट नै गाँउले चुलोको जन्म भएको हो ।
बुटवलमा घर बनाउने प्रयोजनमा बुटवल झरेका विपिनको जापान जाने हुटहुटी सफल नभएपछि कसरी ‘सेटल’ हुन सकिन्छ भन्ने सोँचमा थिए । घर बनाउन बुटवल बस्ने क्रममा स्थानीय युवा विक्रमसँग उनको भेट भयो । साथीभाईसँग रङ्गरमाइलोका क्रममा चिनजान भएका दुईजनाको साइनो भयो ‘सोल्टी’ । बोलाउने साईनो बन्यो सोल्टी । पहाडको पसललाई सामान पठाउन बिपिन बुटवल झरिरहन्थे, त्यही क्रममा बिपिन र विक्रमको दोस्ती पनि झाङ्गिदै गयो ।
उता पर्वतको बाच्छा बिहादीबाट बसाइसराई गरेर बुटवल झरेको परिवारमा हुर्केका विक्रममाठेक्काको काममा दीगोपन नदेखेपछि र अमेरिका वा युरोपको कुनै शहर जाने प्रयासमा पटक पटक असफल भएपछि ठेकेदारको पछि लागेर पैसा कमाउन नसकिने विचार आउन थालेको थियो । अमेरिकाले भिसा नलगाइदिएपछि उनी पनि केही काम त गर्नु पर्छ भन्ने सोँचमा थिए ।
अहिले जहाँ गाँउले चुलो संचालनमा रहेको छ, त्यहाँ ७ वर्ष पहिले डी ग्रील नामको रेष्टुरेन्ट थियो । विक्रमका साथीहरुले चलाएको रेष्टुरेन्ट खासै चलेको थिएन । एकदिन साथीहरुसँग गफिँदै थिए विक्रम । रेष्टुरेन्ट नचलेपछि बिक्रि गर्ने सुरमा रहेका साथीहरुले विक्रमलाई रेष्टुरेन्ट बेचिदिन भने । त्यसैबेला कतै जान विपिन विक्रमलाई लिन मोटरसाइकल लिएर त्यहाँ आइपुगे । ‘मोटरसाईकलको पछि बसेका विक्रमले विपिनलाई रेष्टुरेन्ट विक्रिमा रहेछ, किन्ने हो र ?’ भन्दै प्रस्ताव राखे । मोटरसाइकल चलाउँदा चलाउँदै दुईजनाले कल्पना नै नगरेको रेष्टुरेन्ट किन्ने र चलाउने सल्लाह गरे ।
रेष्टुरेन्ट किनेर त्यसको आकार परिवर्तन त गरे, तर दुबैलाई कस्तो रेष्टुरेन्ट खोल्ने भन्ने थाहा थिएन । एकजना कपडा व्यापारी अर्का ठेकेदार युवा । होटल र रेष्टुरेन्टको अनुभव नै नभएका दुबैजनाले रेष्टुरेन्टको मर्मत र नयाँ संरचना बनाउँदासम्म कस्तो प्रकृतिको रेष्टुरेन्ट बनाउने भन्ने योजना थिएन ।
बनाउँदै जाँदा दुबैजनाले सोँच बनाए, ‘बुटवलमा एउटा ‘टिपिकल’ नेपाली भान्छाघर छैन, नेपालीपन झल्कने भान्छाघर खोल्नु पर्छ ।’ सुरुमा चुलो मात्र नाम राख्ने कि भन्ने सल्लाह गरे । त्यसपछि विक्रमको चुलो नाममा विपिनले जुराय ‘गाँउले चुलो’ । त्यसपछि शुरुभयो नेपाली खानासहितको गाँउले चुलोको यात्रा ।
नाम जुराएपछि विपिनले त्यहाँ साँच्चिकै गाँउको झल्को आउने डिजाइनको परिकल्पना गरे । गाँउघरमा हुर्के बढेका विपिनले रेष्टुरेन्ट भित्रै गाँउघरमा बालिने चुलोको आकार, लोक्कल रक्सी बनाउँदा प्रयोग हुने हाँडी, स्याकु, नाङ्लो र परम्परागत भाँडाकुँडाहरु जुटाएर रेष्टुरेन्टको आकारमा पुरै नेपालीपन दिए । सजावटको परिकल्पनाकार नै विपिन भएको विक्रम बताउँछन् ।
दुबैजनालाई सघाउन आइपुगे लामो समय हङकङमा नेपाली रेष्टुरेन्ट चलाएका कुक नविन थापा । बागलुङ घर भएका थापा जिरे खुर्सानी नामको रेष्टुरेन्टबाट चर्चित त थिए नै गाँउले चुलोमा जोडिएपछि उनको कालिगढपन अझै खारियो ।
गाँउले चुलोमा एक पटक खाना खाएकाहरू फेरि यता आउँदा यहीँ खाना खान आउने गरेका छन् । बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ साढे ६ बजेदेखि राति १० बजेसम्म गाउँले चुलोमा आउने पाहुनालाई खाना खानेहरुको भिड नै लाग्ने गर्दछ ।
दुवै मिलेर अहिले गाउँले चुलो रहेको ‘डी ग्रील’ रेस्टुरेन्टलाई विपिन र विक्रमले ६/६ लाख रुपैयाँ लगानी गरेर १२ लाखमा किने । पुरानो घरलाई धेरै ‘मेन्टिनेन्स’गर्नुपर्ने थियो । गाउँको झल्को दिन गरेर सजावटको काममा दुवै सोल्टी कस्सिए । होटल सञ्चालनको तयारीमा ल्याउने अवस्थासम्म पु¥याउँदा झण्डै ५० लाख रूपैयाँभन्दा माथि लगानी पुग्यो । त्यसपछि विक्रम संवत २०७४ फागुनबाट सञ्चालनमा आयो सबैको खाना रोजाइँमा परेको गाउँले चुलो ।
चुलोमा प्रायःगाउँमै उत्पादित अर्गानिक तरकारी, घ्यू, चामल र अचारको प्रयोग गरिन्छ । गाँउले चुल्होमा प्रयोग हुने अधिकांश परिकारहरुका सामाग्री गुल्मीबाट संचालित पहाडी तरकारी र फलफूलको बिक्रि गर्ने कम्पनी पैंचो पसलले उपलब्ध गराउने गरेको छ ।
रक्सी बेच्न भन्दा खाना बेच्नमा जोड
सामान्यतया नेपाली रेष्टुरेन्टहरुमा रक्सी वा बार नचलाई रेष्टुरेन्ट चलाउन सकिँदैन भन्ने सोँच रहेको छ । तर गाँउले चुलोका दुई संचालकमा रक्सी बेचौं र धेरै पैसा कमाऔं भन्ने विचार कहिल्यै आएन । माग गरेमा उपलब्ध गराइएपनि बार र मदिरा बिक्रिमा चुलोमा प्राथमिकतामा राखिएको छैन ।
’रक्सी बेच्दैमा फाइदा हुन्छ वा रेष्टुरेन्ट चल्छ भन्ने होइन, नेपालीपनको खानाले पनि रेष्टुरेन्ट चलाउन सकिन्छ,’ विक्रम भन्छन्, ‘सरकारले अनुमति दिए बरु कोदो वा नेपाली घरेलु रक्सी चलाउँदा राम्रो हुन्छ ।’
विपिन भन्छन् ‘पूर्वबाट पश्चिम यात्रामा रहेका र पश्चिमबाट पूर्व जानेहरू पनि खाना खाएर जाने हो, खाना होला नि भनेर फोन गर्नुहुन्छ । हाम्रोमा एक पटक खाना खान आएका पाहुनाहरु फेरि आउने गरेको देखेको छु ।’
दुबैजनाले गाँउले चुल्हो चलाउन कुनै प्रचार प्रसार गरेनन् । साथीभाइलाई बोलाए, आएका साथीभाइले उनीहरुलाई सघाउने हिसाबले ओपनिङकै दिन ५० बढीले खाना खाए । ‘मुखदेखि कान सम्म’ “आएका साथीहरुले सबैको कानसम्म खानाको प्रशंसा गरिदिनु भयो र ग्राहक आउन थाल्नु भयो’ विपिन भन्छन् ।
ठेकेदारी गरेका र कपडा बेचेका ब्यापारी भएपनि दुबैजनामा कुनै बडप्पन छैन । आवश्यक परेका बेला पोछा लगाउनेदेखि खाना ‘सर्भ’ गर्ने सम्ममा आफै खटिन्छन् । ‘काम गर्दा सानो भइँदैन भन्ने हामीले बुझेका छौं’ विक्रमले भने ।
यसरी बन्छ चुलोमा खाना प्रायः स्तरीय भनिएका होटलहरुले खानामा स्वाद दिन आजभोलि बजारमा पाइने विभिन्न प्रकारका मरमसला प्रयोग गर्ने गरेपनि गाउँले चुलोमा मसलाको रूपमा आफैंले सिलौटोमा पिसेको जिरा र धनिया मात्र प्रयोग गरिन्छ। बाहिरबाट किनिएको अन्य कुनै ‘प्याकिङ’ मसला प्रयोग गरिँदैन ।
गाँउघरकै अदुवा लसुन, जिरा धनिँया र अर्गानिक तरकारी तथ पहाडी दलहन गेडागुडी । गाँउले चुल्होको कच्चा पदार्थ त्यत्ति नै हो ।
शाखा विस्तारको योजना
संचालनमा आएको ५ वर्षकाबीचमा गाँउले चुलोले भैरहवामा एउटा शाखा विस्तार गरेको छ । भैरहवाको बर्मेली टोल भाटभटेनी नजिकै खुलेको गाँउले चुलोमा पनि खाना खानेहरुको भिड लाग्ने गरेको छ । उनीहरुको छिट्टै काठमाडौंमा शाखा बिस्तार गर्ने योजना छ । भैरहवामा मुल गाँउले चुल्होको ६० प्रतिशत र स्थानीय साझेदारको ४० प्रतिशत लगानी रहेको छ ।
दुईवटा शाखामा गरी ३० बढी युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष बजारमा गाँउले चुलोबाट २० बढीको रोजगारी चलेको उनीहरु बताउँछन् ।
प्रतिक्रिया