खजुरा । बाँकेको खजुरामा रहेको पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। ६ शय्या क्षमताको अस्पतालको आइसीयू कक्षको एक कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्य मन्त्री पदम गिरीले उदघाटन गरेका छन् । मन्त्री गिरीले आइतबार आइसीयू सेवाको सुरुवात गरेका हुन्।
दादुरा प्रभावित क्षेत्रको अवलोकन गर्न बाँके पुगेका मन्त्री गिरीले सोही क्रममा क्यान्सर अस्पतालमा संचालन गरिएको आईसीयू कक्षको उदघाटन गरेका हुन् ।
उदघाटनको क्रममा बोल्दै उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरे ।
जनस्तरबाट मुट्ठी दानगरेर अस्पताल बनाउन शुरु गरिएको सो अस्पताल २०७२ साल देखि सरकारले स्वामित्व ग्रहण गरेर संचालन हुँदै आएको छ । संघीय सरकारले स्वामित्व ग्रहण गरेपनि अस्पतालका लागि दरबन्दी सृजना नगरिँदा अस्पतालले करार सेवाबाट जनशक्ति परिचालन गर्दै आएको छ ।
अघिल्लो महिना मात्र रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण अस्पतालमा भित्रिएसँगै क्यान्सरको सम्पूर्ण उपचार खजुराबाटै हुन सक्ने अवस्थामा रहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ललदे बताए । उनले लिन्याक मेसिन संचालनमा आए पछि क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई तथा अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने जनाए।
प्रतिक्रिया