नेपालगन्ज । आज थारू सम्बत २६४५ को प्रारम्भको दिन, अर्थात थारु समुदायको नयाँ वर्ष । थारू समुदायले आज नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर आव माघीपर्व मनाउँदैछन्।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायमा छ।
थारु बस्तीमा बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने प्रचलन छ। यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यतासमेत छ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ।
विशेष गरी थारु जातिले विशेष महत्वका साथ मनाउदै आइरहेको यस पर्व पुस महिनाको अन्तिम दिनदेखि मान्न सुरु गरिन्छ । थारु समुदायले पुस महिनाको अन्तिम दिन सुङ्गुर काटेर घरघरमा मासु लग्ने परमपरा चलि आएको छ । त्यसैगरी त्यहि रातमा थारु अगुवा र बुढापाखाहरु एकै ठाउँमा जम्मा भएर ठूला, ठूला काठका मुढा बालेर आगो ताप्दै ढुम्रु गीत गाउँदै रात बिताउने गर्छन् । त्यो गीतमा उनीहरुको जीवन पद्धती बोल्ने गर्छ ।
‘हरे उतहलालारे माग कही सेडुरा, छुट पानी घाट निद छुटे भिनसार रेलाला, कारी मरद संग नै सोईबु रे’ । थारु समुदायमा उक्त दिन भाले नबास्दै खोला तथा नदीहरुमा गई स्नान गर्ने चलन रहेको छ । घरका लोग्ने मान्छेहरु स्नान गर्न जाने र महिलाहरु भने ढिक्री, अनदीको रोटी, मासु र विभिन्न परिकार बनाई आएका आफन्त तथा पाहुनाहरुलाई खुवाउने काममा व्यस्त हुने गर्छन । स्नान गरेर पुरुषहरु घरमा आइसकेपछि चामल, मासको दाल र नुनलाई आफ्ना चेलीबेटीहरुका लागि दाजुभाइहरुले छुट्याउँछन् । जस्लाई निस्राउ भनिन्छ । प्राचिन कालदेखि नै थारु समुदायहरुले आफ्ना दिदी बहीनीहरुलाई निस्राउ छुट्याउने परम्परा रही आएको छ । जो अहिले सम्म पनि कायम छ ।
माघीको अवसरमा प्रत्येक घरघरमा गएर रातभरी नाच्ने,माघीको शुभकामना दिने अनि नाचेका घरहरुवाट दक्षिणा लिने प्रचलन रहेको छ ।
गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । त्यसलाई बडघर पनि भन्ने गरिन्छ । बडघर चुन्दा सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।
विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ।
सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । विसं २०७२ देखि भने माघ १ गतेलाई थारू समुदायले अझ बृहदरुपमा मनाउन थालेका छन्। माघी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया