काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ ।
विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ । ८ महिनाअघि मात्रै ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको हो ।
विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।
विश्व बैंकको बुधबार प्रकाशित विश्व आर्थिक परिदृष्यअनुसार युक्रेन युद्धको प्रभाव दक्षिण एसियामा पनि पर्ने छ । यसले गर्दा सन् २०२२ मा आर्थिक वृद्धिदर ६ दशमलव १ मा मात्र हुने र यो घटेर सन् २०२३ मा ५ दशमलव ५ मात्र हुनेछ । सन् २०२४ मा भने यो ५ दशमलव ८ मा उक्लिने छ ।
विश्व बैंकका अनुसार दक्षिण एसियाका मुलुकहरूमा सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको नै हुनेछ । सन् २०२१ मा ४१.७ प्रतिशत आर्थिक वृद्धि गरेको माल्दिभ्सको कोरोनाका कारण सन् २०२२ मा १२.४ मा सीमित हुनेछ भने २०२३ मा ८.२ हुनेछ । सबैभदा कम आर्थिक वृद्धि पाकिस्तानको हुने प्रक्षेपण गरिएको छ । पाकिस्तानको सन् २०२१/२२ मा ६ प्रतिशत, सन् २०२२/२३ मा २ प्रतिशत र २०२३/२४ मा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।
विश्व बैंकका अनुसार सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रीलंकामा गरिबीको संख्या बढ्दै जाने छ । भारतको, सन् २०२२/२३ मा ६.९ प्रतिशत र २०२३/२४ मा ६.६ प्रतिशतको आर्थिक वृद्धि हुने छ ।
सन् २०२२/२३ अर्थात् चालू आर्थिक वर्षमा बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै, आगामी आवमा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ । विश्व बैंकले दक्षिण एसियामा खाद्यान्नको मूल्य वृद्धिसँगै विपन्न र न्यून आय भएका समूह खाद्य असुरक्षाको संकटमा धकेलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तनको असरले अर्थतन्त्र थप संकटमा जान सक्ने जोखिम रहेको विश्व बैंकको भनाइ छ ।
विश्व बैंकले विकासशील राष्ट्रको अर्थतन्त्र भने मध्यम रहने देखाएको छ । विश्व बैंकका अनुसार मन्दीको असर विशेषगरी गरिब देशमा बढी देखिने छ । यी देशमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने छ ।
उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृंखलामा देखिएको अवरोधलगायतका कारणले पनि यस्तो समस्या हुने प्रक्षेपण विश्व बैंकको छ ।
अमेरिका, युरोपेली देश र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको विश्व बैंकको भनाइ छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशत र चीनको ४.३ प्रतिशत रहने अनुमान छ ।
चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो ।
विश्व बैंकको विश्व आर्थिक परिदृश्य प्रतिवेदन २०२३ ले नेपालले कोभिड-१९ महामारीबाट परेको प्रभावबाट छिटो पुनरुत्थान गर्न लागेको जनाएको छ ।
विश्व बैंकका अनुसार मन्दीको असर गरिब देशहरू विशेषगरी अफ्रिकाका देशहरूमा सबैभन्दा बढी देखिने छ । यी देशमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने प्रक्षेपण गरिएको छ । जसका कारण गरिबी बढ्ने सम्भावना पनि बढ्दै गएको छ । यसबाहेक अमेरिका-युरोपमा निरन्तर बढ्दै गएको ब्याजदरले गरिब मुलुकबाट लगानी आकर्षित हुने र ती मुलुकमा लगानीको संकट गहिरिनेछ ।
विश्व बैंकका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका यो वर्ष मन्दीबाट बच्न सक्ने भए पनि यसको वृद्धिदर ०.५ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । जहाँ विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरको अनुमान घटाएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।
प्रतिक्रिया