१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी !



लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजे । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले(माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलो मनाङ भएर पनि उनले कर्मथलोको रूपमा लमजुङलाई रोजेका छन् ।

यसपालि पृथ्वीसुब्बा गुरूङको चाहना प्रतिनिधिसभाको उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनको सपना थियो । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।

लमजुङमा आयोजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेको थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाको निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

सोचेजस्तो सधैं कहाँ हुन्छ र रु पृथ्वीसुब्बाको हकमा पनि त्यस्तै भयो । फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो पार्टीले । पछिल्लो समय गुरूङभन्दा पनि ओलीको नजिक बनेका खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाको टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाको उमेदवार बन्न पुगेका छन् ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीको कोपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् । लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियो, तर प्रतिनिधिसभाको निर्वाचन उनका लागि फलामको च्युरा चपाउनुसरह मानिएको छ ।

प्रदेश सभा ख उनको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ उनको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेको छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको निर्वाचन लड्न सहज थियो । उनको चाहना पनि त्यही थियो, तर घलेले प्रदेश सभा क को टिकट पाएका छन् ।

देव गुरुङलाई पनि कांग्रेसको भर हो । कांग्रेसका मतदाताले उनलाई कतिको साथ दिन्छन्, त्यो हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लो समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएको स्थानीय निर्वाचनले पनि यही संकेत गरेको छ । यसको फाइदा उनलाई हुने सम्भावना छ ।

देव गुरुङ योसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारको रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ को चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङको यो सातौं निर्वाचन हो । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोगेका उनले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जिते । ०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ को प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ । स्थानीय निर्वाचनको नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : १३ बजे

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम

काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने

युवायुवती विदेशिँदाको असर देउसीभैलोमा देखिन थाल्यो

म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको

इङ्ल्याण्ड विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले

कुश्मिसेरा-राङ्खानी सडक निर्माणमा चरम लापरवाही

बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी