६ पुस २०८१, शनिबार | December 21, 2024

तिमी के भन्छौ मीनेन्द्र ?



मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर बिद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का बिद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि ।

नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए, डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुबै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर ।

राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुबैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्तो थियो । मीनेन्द्रको कर्मक्षेत्र मोरंगमा आचार्य र कोइरालाका रुपमा चुनौतिका चांग थिए भने प्रकाशका लागि आफनै दाजु रामशरण महत र निर्दलीय पंचायत र बहुदलीय प्रजातन्त्रकालमा समेत ‘अपरिहार्य’ बनेका अर्जुन नरसिंह केसी र उनका भाइहरुको सामनागर्नु सजिलो थिएन ।

यो पटक मीनेन्द्रले संसदीय टिकट पाएनन । प्रकाशले समानुपातिकमा सुरक्षा खोजे । उनले नुवाकोटको राजनीतिमा अर्जुन नरसिंहको अपरिहार्यतालाई स्वीकार गरे । मीनेन्द्रको टिकट सुजाताले खोसिन । उनको एकमात्र योग्यता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुनु हो ।

संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा होस वा त्यसपछि – डा. मीनेन्द्र र डा. प्रकाश दुबैको राजनीतिक खूबी देखिएन । समयको एक सीमासम्म डा। मीनेन्द्र रिजाल शेरबहादुर देउवासंग थिए । त्यसपछि, उनी सुशील कोइरालाको पछि लागे । डा। प्रकाश शरण महतले शेरबहादुर देउवाको साथ अहिलेसम्म छाडेका छैनन ।

यी दुबै नेतामा अनन्त राजनीतिक सम्भावना थिए । अमेरिकामा पढेका र पढाएका । देशमा राजनीति गरुन्जेल दुबै जुझारु थिए । अझ मीनेन्द्र त बीपी कोइरालाका पनि प्रिय थिए । यी दुबै नेतामा सम्भावना पूर्ण भएर पनि साहसको अभाव थियो । दुबैले न त पार्टी, सरकार र ब्यबस्थामा सुधारका लागि दवाव सिर्जना गर्न सके न त राजनीतिक सुविधा लत्याउने आँट नै गरे । अन्ततः उनीहरुको आँखा अगाडि माओवादी आन्दोलन चर्कियो । यसको सामना र समाधानगर्ने साहस मीनेन्द्र र प्रकाशले मात्रै होइन, अरु युवा नेताले पनि देखाउन सकेनन ।

देशको अवस्था अहिले पनि उस्तै छ । फरक यति हो कि अहिले राजतन्त्र छैन । सेना, पुलिस, साहू, महाजन, कर्मचारी र कुलीनतन्त्रको हैकम र दवदवा उस्तै छ । हामी यस्तो गणतन्त्रमा छौं जहाँका नेता भनाउँदाहरुले गणतन्त्रको महत्व नै बुझेका छैनन । उनीहरु कुलीन वर्गको कमाराको हैसियतमा रहेकाछन ।

साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरु राजनीतिमा आपूmले गरेको लगानी उठाउँदैछन । एकथरि कम्युनिष्टले त पन्चायतकालदेखि नै राजतन्त्रबाट प्राप्त सुविधाको उपभोग गरेका हुन । समाजवादी चिन्तक प्रदीप गिरि भन्ने गर्नु हुन्थ्यो, ‘अहिलेको समय लिंगोदर सभ्यताको समय हो । मानिस आफनो लिंग र उदरको चिन्तामा डुबेकोछ ।’

जे होस, मीनेन्द्रले टिकट पाएनन । ब्यक्तिगत हिसावले मलाइ यसमा दुःख लागेको छ । मन पनि खिन्न छ । उनले टिकट पाएको भएपनि गर्न त केही सक्दैनथे । कहिलेकहीं संसदको रोष्ट्रममा उभिएर दुइचार कुरा सुनाउथे । त्यति हो ।

दुःखको कुरा हाम्रो पुस्ताले लोकतन्त्र पुनस्र्थापनाको त्यति लामो लडाइ लड्यो । यो लडाइमा सयौं साथीहरु शहीद भए । तर, देशमा चाहिएको जस्तो गुणात्मक परिवर्तन भएन । यो नै दुःखद कुरा हो ।
तिमी के भन्छौ मीनेन्द्र ?

नोट : यो सामाग्री वरिष्ठ पत्रकार किशोर नेपालको फेसबुकबाट साभार गरिएको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ३५ बजे

देशमा क्रमशः आर्थिक-सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको

‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको

जनकपुर बोल्ट्सले उचाल्यो नेपाल प्रिमियम लिगको उपाधि

काठमाडौं । नेपाल प्रिमियम लिग (एनपिएल)को उपाधी जनकपुर बोल्ट्सले जितेको

देवदहमा दोस्रो मिडिया फेष्टिवल हुँदै

देवदह । देवदहमा मिडिया फेष्टिवल हुने भएको छ । देवदह

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा